सेबोनले के गलत गर्यो भनेर नेप्सेसँग सोध्नुपर्ने भएको छः निरज गिरी

<p>काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हिजो (असार १ गते) बजारमा लगानी गर्दा जोखिम मूल्याङ्कन गरी कारोबार गर्नु भन्दै एउटा विज्ञप्ती जारी गर्यो । जसमा केही जोखिम देखिएका कम्पनीकाे अध्ययन गर्दैछौं भनेर ५१ वटाको नाम समेत सार्वजनिक गरिएको थियो । यस लगत्तै सामाजिक सञ्जालहरुमा लगानीकर्ताको आक्रोशको वर्षा भयो । नियामक निकाय बोर्ड [&hellip;]</p>

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हिजो (असार १ गते) बजारमा लगानी गर्दा जोखिम मूल्याङ्कन गरी कारोबार गर्नु भन्दै एउटा विज्ञप्ती जारी गर्यो । जसमा केही जोखिम देखिएका कम्पनीकाे अध्ययन गर्दैछौं भनेर ५१ वटाको नाम समेत सार्वजनिक गरिएको थियो ।

यस लगत्तै सामाजिक सञ्जालहरुमा लगानीकर्ताको आक्रोशको वर्षा भयो । नियामक निकाय बोर्ड आफैले जोखिमयुक्त कम्पनी भनेर नाम नै किटान गर्न नहुने भन्ने अधिकांश लगानीकर्ताको तर्क छ ।

उता बोर्डले भन्न खोजेको र लगानीकर्ताको बुझाईमा फरक परेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको भनाई छ । छलफल भएर नै सार्वजनिक गरिएको विज्ञप्तीमा केही त्रुटि नभएको उनको दावी छ ।

‘हामीले अहिलेको वित्तीय विवरणको आधारमा ५१ कम्पनीको केही प्यारामिटरहरुमा जोखिम जस्तो देखिएका छन्, त्यसैले लगानी गर्दा त्यस्ता प्यारामिटरहरु हेरेर लगानी गर्नु भनेका हौं, यो भन्दै गर्दा यी बाहेक अन्य कम्पनी राम्रा भन्न खोजिएको होइन, आजको हिसावमा अर्थात पछिल्लो त्रैमासिक रिपोर्टको आधारमा ५१ कम्पनी केही शीर्षकमा नराम्रो देखिएका होलान् तर पछि त्यहि कम्पनी नै राम्रा हुन सक्छन्, अहिले हामीसँग उपलब्ध विवरण तथा आधारभूत विश्लेषणको आधारमा यी कम्पनीको यस्तो छ है भनेका हौं, जसमा लगानीकर्ता जानकार नै थिए’, उनले भने ।

यस्तो छ उनको भनाई

अहिलेको बजारमा जुन कम्पनी बलिया अर्थात चुक्ता पुँजी लगायत विभिन्न शीर्षकमा राम्रा छन् । त्यस्ता कम्पनीको मूल्य बढेको छैन । तर, यस्ता कम्पनी, जसको पीई नेगेटिभ छ, जसले रिटर्न दिन सक्ने अवस्था छैन, त्यस्ता कम्पनी २००/३०० प्रतिशतले बढेको छ भनेपछि जोखिम त भयो नि । भोलि बजार घट्यो भने लगानीकर्ता अफ्ठ्यारोमा पर्नुहुन्छ ।

यी कम्पनीमा यस्तो यस्तो देखिएको छ । विचार गरेर लगानी गर्नु भनेका हौं । तर्साउन खोजेको होइन ।

लगानीकर्ता डराउनु पर्दैन, किनभने हामीले यसअघि पनि जानकारी गराएकै थियौं, यो यो शीर्षकमा हामीले अध्ययन गर्दैछौं भनेर, त्यसैले आत्तिनु पर्ने केहि छैन ।

बोर्डको विज्ञप्तिले बजारमा प्यानिक आउँछ कि भन्ने धेरैमा आशंका छ । तर, मेरो विचारमा बजारमा प्यानिक आउँदैन । किनभने हामीले तथ्यमा आधारित भएर तथ्यसहित सूची सार्वजनिक गरेका छौं । विभिन्न शीर्षकमा नकारात्मक रहेका, केही रिटर्न नै नदिएका र दिन नसक्ने अवस्थामा रहेका कम्पनीको मूल्य एकाएक उचाईमा पुग्दा अहिलेको बजार डरलाग्दो अवस्थामा पुग्यो भन्ने त सबैमा भइरहेकै थियो । मात्र आधिकारिक रुपमा डिस्क्लोज नभएको त हो । त्यसैले यस्तो अवस्थामा जोखिमयुक्त हुन सक्छ विचार गर्नुस् भनेका हौं ।

अहिलेको अवस्थामा कम्पनीले जुन वित्तीय विवरण प्रकाशित गरेका थिए । त्यसको आधारमा मूल्यसँग हेर्दा यी कम्पनी जोखिम जस्तो देखिएको छ विचार गर्नुस् भनेका हौं । तर, यो अहिलेको अवस्थामा मात्रै हो, भोलि के हुन्छ हामीलाई पनि थाहा हुँदैन । भोलि राम्रो पनि हुन सक्छ ।

हाम्रो अध्ययन जारी नै रहेको छ । डाटाहरु एनालाईसिस भईरहेको छ । हामी थप स्फेसिफिक हुन्छौं । अहिले ५१ वटाको देखिएको छ । त्यसमा थप अध्ययन गरेर साँचै जोखिम देखिएकाहरुको के रहेछ भन्नेमा जोड दिन्छौं ।

हामी ५१ वटा कम्पनी मात्रै नभएर अन्य राम्रा कम्पनीको पनि यस्तो छ भनेर जानकारी गराउँछौं । राम्रो भन्नाले त्यस्तो कम्पनी, जो विभिन्न प्यारामिटरको आधारमा सुरक्षित छ ।

अहिले नर्मल भइरहेकोलाई सार्वजनिक गरेका त हौं ।

बोर्डले कम्पनीको सूची सार्वजनिक गरिसकेपछि ती कम्पनीको कारोबार रोक्का गरेर अध्ययन गुर्नपर्थ्थो भन्ने आम लगानीकर्ताको तर्क रहेको छ ।

हामीले कारोबार रोक्का गर्न हुँदैन । किनभने कसैको सम्पत्ति किनबेच गर्न हामीले रोक्नु हुँदैन । कम्पनीलाई किन प्यानेलाइज गराउने, बजार घट्ने बढ्ने भइरहन्छ, अहिले घट्यो भने पछि बढ्दैन र ? हिजोको दिनमा १८०० बाट ११०० मा झरेर माथि आएको बजार न हो । आज कम्पनीले राम्रो पर्फरमेन्स गरेन भने सँधै गर्दैन भन्ने पनि हुँदैन । अब लगानीकर्ताको बुझाई कस्तो हो भन्ने हो । यसमा कोहि सकारात्मक हुनुहुन्छ भने कोही नकारात्मक हुनुहुन्छ ।

हामीले नेप्सेलाई पनि अध्ययन गर्नु भनेका थियौं । तर उहाँहरुले बोर्डले गलत गर्यो भन्ने तर्क रहेछ । के गलत गरेछौं भनेर उहाँलाई सोध्नुपर्छ ।

हामीले अध्ययन गर्दा यस्तो यस्तो देखिएको छ है भनेर मात्र कम्पनीको नाम डिस्कोज गरेका हौं । जुन ती कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेका थिए, र लगानीकर्तालाई थाहा नै थियो ।

लगानीकर्ता डराउनु पर्दैन । हामीले कुनै गलत काम गरेका छैनौं । लगानीकर्तालाई तर्साउन खोजेको होइनौं । मात्र जोखिम छ है भनेर सचेत गराएका हौं । लगानीकर्ताले बुझ्नु पर्ने के हो भने बजार जोखिमरहित कहिल्यै पनि हुँदैन । तर, यो यो शीर्षकको आधारमा यी कम्पनीमा लगानी गर्न सजग हुनु भनेका हौं । भोलि लगानीकर्ता डुबेर सडकमा आएभने बोर्डको जिम्मेवारी हुनेछ, त्यसैले बेलेमै सचेत गराएका हौं ।

अहिलेको अवस्थामा लगानी गर्दा सचेत हुनु, पछिल्लो रिपोर्टको आधारमा यस्तो देखिएको हो, अर्को रिपोर्ट आउँदा राम्रो हुन सक्छ भनेर हामीले भनेका हौं ।

ऐनमा नै लगानीकर्ताको हक हितको संरक्षण गर्नु भनिएकोले लगानीकर्तालाई सजग गराएको र नयाँ तथा साना लगानीकर्ताहरु नफसुन् भन्ने बोर्डको उद्देश्य रहेको बोर्डले जानकारी गराएको छ ।

अर्थतन्त्र खुकुलो भएर चलायमान भयो भने बजार घट्न सक्छ । पहिला पनि त्यस्तै भएको थियो । कुनै कम्पनी यस्तो छ कि, जसको नेटवर्थ ४० रुपैयाँ छ, ६० रुपैयाँ उसले आफ्नो क्यापिटल खाईसक्यो । त्यस्तो कम्पनीको सेयर मूल्य २००/३०० पुगिसक्यो । कुनै कम्पनी जसले ५/६ वर्ष केही दिँदैन, त्यस्तोमा ४०/५० लाखको सेयर किनेको देखिन्छ भने लगानीकर्ताले के आधारमा किन्नुहुन्छ । के हेरेर लगानी गर्नुहुन्छ भन्ने हो । चलखेल हो कि के हो, बुझेर लगानी गरेको हो या नबुझेर हो ? यी विषयमा सबैलाई थाहा हुँदैन । त्यसैले सचेत गराएका हौं, जुन हाम्रो कर्तब्य पनि हो ।

अहिले नेप्से परिसुचक ४ हजार पुग्छ भनेर लगानी गरेका छन्, अहिले लगानी गरेर भोलि बजार घट्यो भने त्यसको दोष बोर्डको थाप्लोमा आउँछ । हामीले भोग्नु पर्छ । नियामकको हिसावले किन हेरेनौं ? तिमीलाई लागेको थियौं भने किन बोलेनौं ? भन्ने जस्ता आरोप आउँछन् । त्यसैले अहिले नै सचेत गराएका हौं । जुन हामीले पहिलेदेखि नै जानकारी गराउँदै आएका थियौं । अहिले हाम्रो अध्ययनले जे देख्यो, त्यो प्रकाशित गरिदिएका हौं ।

Share News