काठमाडौं । जेठ महिनामा घरजग्गा कारोबारमा निकै कमि आएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी निषेधाज्ञामा घरजग्गा किनबेच नहुँदा राजश्व संकलनमा पनि कमि आएको हो ।
भूमी व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा २ करोड ७२ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । कुल १ हजार ४ सय मात्रै घरजग्गा किनबेच भएको छ । विभागका अनुसार जेठ महिनामा देशभरका मालपोत कार्यालयहरु बन्द हुँदा कारोबार नभएको हो ।
चैत र बैशाखको तुलनामा जेठ महिनामा घरजग्गा कारोबार र राजश्व संकलन एकदमै न्यून देखिएको हो । ०७७ सालको अन्तिम महिना चैतमा मुलुकभर घरजग्गा किनबेच र राजश्व असुलीमा नयाँ रेकर्ड बनेको थियो । तर, नयाँ वर्षको सुरुवातमा भने राजश्व संख्यामा ठूलो गिरावट आएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले देशभर निषेधाज्ञा छ । निषेधाज्ञामा अधिकांश मालपोत कार्यालयहरु बन्द भएका छन् ।
देशभरका मालपोत कार्यालयहरुबाट घरजग्गा किनबेच लगायत नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहियानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि प्रकृया लगायत सेवा प्रवाह नभएपछि राजश्वमा पनि गिरावट आएको देखिएकाे विभागकाे भनाइ छ ।
विभागका प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार नभएपछि राजश्व संकलनमा पनि कमि आएको बताए । उनका अनुसार देशका सीमित मालपोत कार्यालयहरुले मात्रै केही सेवा दिँदा सो कारोबार भएको देखिएको हो । जेठ महिनामा २ सय ८९ को लिखित पारित, ८ सय ८८ घरजग्गा रोक्का भएको छ ।
देशभरका विभिन्न मालपोत कार्यालयहरुले घरजग्गा कनिबेच गरेको सुविधा शुल्क मार्फत, ७ हजार, पूँजीगत लाभकर ७५ लाख ४० हजार रुपैयाँ, नगर पूर्वाधार विकास कोष शुल्कमार्फत १ लाख ३० हजार र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत, ९ लाख १२ हजार रुपैयाँ संकलन गरेका छन् ।