काठमाडौं । लमजुङ राइनासका सुशिल घिमिरेलाई गत शुक्रबार एउटा अपरिचत नम्बरबाट फोन आयो । फोन गर्ने व्यक्तिले भन्यो- तपाईंको कोरोना बीमाको पैसा आएको छ, खाता नम्बर दिनुस्, पैसा हाल्दिम्ला ।
कोभिड पोजेटिभ घिमिरेले कोरोना बीमाको दावी भुक्तानी पाएका थिएनन् । त्यसैले उनललाई पैसा आउने विश्वास लाग्यो । र, उनलाई ९८४६८७९३१७ नम्बरबाट फोन गर्ने व्यक्तिलाई आफ्नो बैंक खाता नम्बर दिए ।
लामो समयदेखि कोरोना बीमाको पैसाका लागि दावी गरेका घिमिरेले पैसा आउने भएपछि दंग पर्दै काठमाडौंमा रहेकी दिदीलाई सुनाए । उनकी दिदीले शंका गरिन् । अनि दिदीले सम्बन्धित बीमा कम्पनीसँग बुझिन् । तर, बीमा कम्पनीले कुनै पनि बिमितलाई फोन गरेर बैंक खाता नम्बर नमागेको प्रष्ट पार्यो ।
त्यसपछि सुशिलकी दिदी थप सशंकित बनिन् । आफ्नो भाइलाई फोन गरेर खाता नम्बर माग्ने व्यक्तिको मोबाइल नम्बर मागेर दिदीले सम्पर्क गर्न थालिन् । तर, सो नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा पनि सो नम्बरमा सम्पर्क हुन सकेन ।
घटना त्यतिमै सीमित रहेन । त्यसको चार दिनपछि खाता रहेको बैंकबाट घिमिरेलाई फोन आयो । बैंकका ती कर्मचारीले सुशिललाई भने– तपाईंको बैंक खातामा समस्या आयो, फेरि केवाइसी अपडेट गर्नुपर्ने भयो, नजिकको शाखामा गएर केवाइसी अपडेट गरिदिनुस् ।
अब उनी झनै तर्सिए । अनि बैंकका ती कर्मचारीलाई ४ दिन अघिको सबै घटना सुनाए ।
अपरिचत व्यक्तिलाई खाता नम्बर दिएको सुनेपछि बैंकका ती कर्मचारीले ‘अपरिचित व्यक्तिलाई खाता नम्बर नदिनु र आफ्नो ओटीपी (वान टाइम पासवर्ड) सुरक्षित राख्नु’ भन्यो ।
बैंकले घिमिरेको इमेल पनि परिर्वतन भएको जानकारी पाएपछि उनलाई खबर गरेको सुनायो । तर, घिमिरेले आफ्नो इमेल परिवर्तन नगरेको जानकारी गराए । अहिले उनको खाता नम्बर रहेको बैंक थप शसंकित बनेको छ ।
लमजुङका शुसिल घिमिरेलाई मात्रै होइन, अहिले धेरै व्यक्तिलाई अपरिचित व्यक्तिको फोन आइरहेको छ । तपाईंको बीमा रकम भुक्तानी गर्छौं, तपाईंलाई चिठ्ठा पर्यो, आदि इत्यादि कुरा गर्ने र व्यक्तिको बैंक खाता मागेर ह्याक गरी रकम असुल्ने गिरोह संक्रिय भएको छ ।
बिमक संघका महासचिव चंकी क्षेत्रीले कोरोना बीमाका लागि दावी गरेकाहरुलाई रकम भुक्तानी गर्नको लागि बीमा कम्पनीहरुले फोनबाट सम्पर्क नगर्ने बताए ।
‘हामीले कसैलाई फोन गरेका छैनौं, बिमितले डिभी भौचर भर्दा नै बैंक एकाउन्ट नम्बर दिइसकेका हुन्छन्, सम्बन्धित व्यक्तिले उल्लेख गरेको बैंक खाता नम्बर हुँदा हुँदै फोन गरेर सोध्ने कुरा पनि भएन, चेकबाट भुक्तानी गर्ने अवस्थामा सम्बन्धित बिमितलाई एकाउन्टपेयी चेक दिने र अहिले कोभिड महामारीको कारण अनलाइन भुक्तानी गर्नुपर्ने अवस्था आएकोले सम्बन्धित व्यक्तिको बैंक खाता नम्बरमा रकम जम्मा गरिदिने गरेका छौं, यसरी भुक्तानी गर्दा बैंकले खाता नम्बर मिलेन भनेर कारोबार हुन सकेन भने मात्रै सम्बन्धित व्यक्तिसँग औपचारिक माध्यमबाट आफ्नो पूरा परिचय दिएर बीमा कम्पनीका कर्मचारीले सम्पर्क गर्छन्, तर यसरी फोन गरेर खाता नम्बर माग्ने गरेका उदाहरण छैनन् भन्दा पनि हुन्छ,’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बिमक संघका महासचिव क्षेत्रीले भने ।
विभिन्न वहाना बनाएर रकम ठगी गर्न खोज्ने प्रबृत्ति पछिल्लो समय धेरै बढेको नेपाल प्रहरीको जानकारी पनि आएको छ । कहिले चिठ्ठा पर्यो भन्ने कहिले के भन्ने तथा विभिन्न बहाना बनाएर रकम ठगी गर्ने गरेका उदाहरणहरु अहिले निकै बढेको नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक नबिन्द अर्याल बताउछन् ।
‘कतिपय अवस्थामा विभिन्न प्रलोभन देखाएर रकम पठाउन अभिप्रेरित गरी ठगी गर्ने र कतिपय अवस्थामा बैंक खाता मागेर ह्याक गर्ने जस्ता प्रकृतिका अपराध बढेको देखिन्छ, तपाईलाई कसैले पनि फोन गरी गरी चिठ्ठा पारिदिएर वा अन्य कारणले पैसा दिदैन, कानुन अनुसार काम गर्ने कम्पनी वा संस्थाहरुले शंकास्पद किसिमले फोन गरेर तपाईका व्यक्तिगत सुचना माग्दैनन्, यस्ता विषयमा सम्बन्धित व्यक्ति सचेत हुनु भएन भने ठगिने सम्भावना बढी हुन्छ, सचेत रहनु नै सबैभन्दा पहिलो कर्तव्य हुन आउँछ,’ प्रवक्ता अर्यालले भने ।
उनले आफू कुनै पनि प्रक्रियाबाट ठगिएमा नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिने र त्यसको लागि थप सहयोग आवश्यक भए टेलिफोन, इमेल वा सामाजिक संजाल जस्ता विभिन्न माध्यमबाट नेपाल प्रहरीको साइबर ब्यूरो वा अपराध अनुसन्धान महाशाखामा सम्पर्क गर्न सकिने बताए ।
नेपाल बैंकसं संघले पनि पछिल्लो समय अपरिचित व्यक्तिको फोनबाट बैंकका ग्राहकलाई तपाईंलाई चिठ्ठा पर्यो खाता नम्बर पठाउनुस्, वा अन्य व्यक्तिगत विवरण पठाउनुस् भनेर फोन आउन थालेको गुनासो आएको बताएको छ ।
संघले बुधबार मात्रै एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिबाट सतर्क रहन आग्रह गरेको छ ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई अपरिचित नम्बरबाट फोन गरेर व्यक्तिगत विवरणहरु माग्ने क्रम बढेको बताए ।
उनका अनुसार अपरिचित व्यक्तिले बैंकको खाता नम्बर माग्ने, वान टाइम पासपोर्ट (ओटीपी) माग्ने घटना बढेको छ । यसमा सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने उनको भनाई छ ।
‘अहिले विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाईल नम्बर, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न हामीले अनुरोध गरिसकेका छौं,’ उनले भने ।