
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा लगानीकर्ताको आकर्षक बढेको छ । आज (असार १७ गते) देखि सेयर निष्काशन तथा बिक्री खुला भएको उक्त सेयरमा पहिलो दिनमै २१.८८ गुणा बढीको आवेदन परेको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन ५ बजेसम्ममा ५ लाख ८८ हजार ३७२ जना आवेदकले संस्थाको ७९ लाख ५३ हजार ८७० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो ।
सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ ।