काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रदमा आगामी साउन ५ गतेदेखि आवेदन दिन पाइने छ । कम्पनीले सो दिनदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्न लागेको हो । ११ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी शतप्रतिशत हकप्रदपछि २२ अर्ब रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत जेठ २८ गते बुक क्लोज गरेको थियो । यससँगै जेठ २७ गतेसम्म कायम भएका सेयरधनी मात्रै उक्त सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको जनाउँछ ।