काठमाडौं । सहारा विकास बैंकले सेयरधनीलाई तीन आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । असार २२ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो ।
विकास बैंकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को संचित नाफाबाट सेयरधनीलाई ५.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले हाल कायम चुक्ता पुँजीको ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको तीन वटा (अर्थात ८औं, ९औं र १०औं) वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी २७ करोड २२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५.०५ प्रतिशत बोनस सेयर पछि विकास बैंकको चुक्ता पुँजी २८ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।