काठमाडौं । पछिल्लो समय बजारमा खाने तेलको मूल्य घटेको हल्ला फैलिएको छ । आम सर्वसाधारण उपभाेक्ता र साना खुद्रा व्यवसायीहरुले मूल्य घटेकाे महसुस नगरे पनि बजारमा भने मूल्य घटेकाे हल्ला फैलिएकाे हाे ।
बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले समेत तेलको मूल्य घटाउन तेल उद्योगीलाई निर्देशन दिएपछि केही मात्रामा मूल्य घटेको बताएकाे छ ।
विभागका प्रवक्ता शिवराज सेढाई उपभोक्ताको गुनासोका आधारमा उद्योगीलाई निर्देशन दिएपछि थोरै मात्रामा मूल्य घटेको पाइएको बताउँछन् । ‘हामीले तेल उद्योगीलाई मूल्य घटाएर नयाँ मूल्य सार्वजनिक गर्दै विभागमा समेत पठाउन निर्देशन दिएका थियौँ, हाम्रो निर्देशन अनुसार व्यवसायीहरुले प्रति प्याक (१० लिटर) एक सयदेखि तीन सयसम्म मूल्य घटाएको पाइएको छ’, उनले भने ।
तर, आम उपभोक्ताहरु भने तेलकाे मूल्य घटेको अनुभव गर्न नपाएकाे बताउँछन् ।
उद्योगीहरुले तेलको प्रकृति अनुसार (शुुद्ध तोरिको, सनप्व र मट्टमासको तेल) मूल्य घटाएको बताएका छन् । हाल बजारमा पुरानै मूल्य सूची अनुसारको तेल रहेको भन्दै उनीहरुले घटेको नयाँ मूल्यअनुसारको तेल केही समयपछि मात्र बजारमा आउने बताएका हुन् ।
‘पुरानै (बढेको तेल) मूल्य अनुसारको तेल बजारमा धेरै छ, करिब तीन महिना लामो निषेधाज्ञाका कारण बजारमा कारोबार ठप्पै रहेको थियो । विस्तारै बजार खुल्ला भएका छ, अब छिट्टै नै घटेको तेल बजारमा आउँनेछ’, एक उद्योगीले भने ।
तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लावर) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले प्रति लिटर ५ रुपैयाँ मात्रा घटाइएको छ ।
खुद्रा व्यवसायी भन्छन: थोरै मूल्य घटाएर धेरै हल्ला गरियो
खाने तेलको मूल्यमा थोरै मूल्य घटाएर उद्योगीले बजारमा धेरै हल्ला फैलाएको खुद्रा व्यवसायीहरु बताउँदै आएका छन् ।
खुद्रा व्यवसायी संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्य बजारमा हल्ला भएजति खाने तेलको मूल्य नघटेको बताउँछन् । उनका अनुसार उद्योगीले प्रति प्याक (काटुन) ५० रुपैया मूल्य घटाएर बजारमा पठाएका छन् । थोरै मूल्य घटाउने तर प्रति लिटरमा नै ५० रुपैयाँ घटाइएको भन्दै हल्ला फैलाएकाे उनकाे तर्क छ ।
‘उद्योगीले मूल्य घटाएको भन्दै हल्ला फैलाएका छन्, हामीकहाँ घटेको मूल्यको तेल आएको छैन, उपभोक्ता तेलको मूल्य घटेपनि खुद्रा व्यवसायीले नघटाएको भन्दै हामीकहाँ झगडा गर्न आउनुहुन्छ’, उनले दुखेसो गर्दै भने, ‘वाणिज्य विभाग ठूला उद्योगमा अनुुगमन गर्न सक्दैन, अनुगमन गर्न हामी खुद्रा व्यवसायीकहाँ मात्र आउँछन, गल्ती उद्योगीको हुन्छ, हामी साना व्यवसायी बजार अनुगमनको धम्की र उपभोक्ताको झगडा खान बाध्य छौँ ।’
बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताए ।
घ्यू–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य घट्नुमा कच्चा पदार्थको मूल्य घट्नु र तेलको माग घट्नु मुख्य कारण रहेको दाबी गर्दै आएका छन् । वनस्पति घिउ–तेल उत्पादन संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले केही समययता खाने तेलको मूल्य घट्नुको मुख्य कारण खाने तेलको माग र खपतमा ह्रास आउने गरेको बताए ।
संघका अनुसार तेलका लागि आवश्यक कच्चा पदार्थ सोयाबिन अर्जेन्टिना, ब्राजिलबाट र पाम तेल इन्डोनेसिया र मलेसियाबाट ल्याउने गरिएको छ भने सूर्यमुखी (सनफ्लावर) तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरेर ल्याईने गरिएको छ ।
अन्य देशबाट आयात गरेर ल्याएको कच्चा पदार्थलाई प्रशोधन गरी तेल उत्पादन गरेर व्यवसायीले भारत लगायतका देशमा निकासी गर्दै आएका छन् ।