मुस्ताङ, १६ असार । उपल्लो मुस्ताङमा बहुमुल्य धातु युरेनियमको ठुलो खानी रहेको पुष्टि भएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा उपल्लो मुस्ताङ पुगेको प्राबिधिक टोलीले सो क्षेत्रमा उच्च गुणस्तरयुक्त युरोनियमको ठुलो खानी रहेका तथ्यलाई थप पुष्टि गरेको हो । ‘युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन, यसले हामीलाई थप उत्साहित बनाएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।’ खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद धर्मराज खड्काले भने ।

उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा यरेनियमन धातुको अध्ययनका लागि असार १२ गते उद्योग मन्त्री सोम प्रसाद पाण्डेसहितको प्राबिधिक टोली पुगेको थियो । सो टोलीको अध्ययनले लोमान्थाङ क्षेत्रमा यरेनियमन रहेको भन्ने पुरानो आधारलाई थप पुष्टि गर्ने प्रमाणहरु फेला पारेको हो ।
संसारमै बहुमुल्य मानिने युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ ।
१० किलोमिटर क्षेत्रमा युरेनियमन
खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । २० वर्षअघि नै मकवानपुर, वैतडी र बझाङ जिल्लामा युरेनियमको खानी भेटिएको थियो ।

ऐनको अभाव खड्कियो ?
यसरी पत्ता लगाइएको युरेनियम उत्खननका लागि भने ऐन आवश्यक पर्छ तर हालसम्म नेपालले त्यस प्रकारको कुनै पनि ऐन बनाएको छैन् । ‘यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ’,खड्काले भने ।

थप अनुसन्धान र ऐन निर्माणको काम अघि बढ्छः उद्योग मन्त्री पाण्डे
लोमान्थाङमै पुगेर यरेनियमन खानीको स्थलगत अवलोकन गरेर फर्किएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले थप अध्ययन र ऐन निर्माणको अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘लोमान्थाङमा युरेनियम थातुको खानी रहेको तथ्य पुष्टि भएको छ, थप अनुसन्धानसँगै ऐन निर्माणको काम समेत अघि बढ्छ’, मन्त्री पाण्डेले विकासन्युजसँग भने । उनले नेपाल र मित्र राष्ट्रहरुको आपसी सहकार्यमा युरेनियमन उत्खननको काम अघि बढाउने समेत जानकारी दिए ।