काठमाडौं । नेपालको प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हिजाे (असार २९ गते) मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
योसँगै, देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई नेपालको अर्थतन्त्रको मुख्य खम्बा मानिने पुँजी बजारले पनि हरियालीका साथ स्वागत गरेको छ ।
उनको नियुक्ती भएकै दिन बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४५ अंकले घटेको बजार मंगलबार भने एकाएक १६.३४ बिन्दुले बढेर २८७१.०३ बिन्दुमा पुग्यो । मंगलबार सेयर बजारमा जीवन बीमा बाहेक सबै समूहमा हरियाली छायो ।
यो पटकमात्रै होइन, देउवा प्रधानमन्त्रीमा नियुक्त भएको हरेक पटक नै सेयर बजारले उनलाई हरियालीका साथ स्वागत गरेको पाइएको छ ।
यसअघिको पुँजी बजारको इतिहास हेर्दा देउवा आजसम्म जति पटक प्रधानमन्त्रीमा नियुक्त भए, सोही दिनको सेयर बजारले पनि उनलाई साथ दिएको अर्थात स्वागत गरेको देखिन्छ । यसको मतलब उनलाई सेयर बजारले सजिलै पत्याउने गरेको भन्दा खासै फरक नपर्ला ।
देउवा र सेयर बजारको सम्बन्ध
वि.स २०४८ मा गृहमन्त्री बनेका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । यससँगै उनले २०५२ भदौ २६ गतेदेखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्रीमा रहेर नेतृत्व सम्हालेका थिए । यो अवधिमा सेयर बजारको अवस्था के कस्तो रह्यो भन्ने हाल कुनै तथ्यांक छैन ।
देउवा त्यसपछि पुनः दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८गतेसम्म प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । यो अवधिम नेप्से परिसूचक न्युनतम १८८.२२ बिन्दुदेखि उच्चतम ३५२.२५बन्दुमा रहेको थियो ।
देउवा पुनः वि.स २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री भए । तर, पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए । नियुक्त भएको दिन परिसूचक सामान्य अंकले बढेर २०९.१४ बिन्दुमा पुगेको थियो भने पदमुक्त भएको दिन बढेर २४७.२५ बिन्दुमा पुगेको थियो । यस कार्यकालमा भने नियुक्त हुँदाभन्दा पदमुक्त हुँदा परिसूचक बढेको थियो ।
त्यस्तै, देउवा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको र पदबाट बाहिरिएको दुबै दिन परिसूचक बढेको थियो । उनी २०७४ साल जेठ २३ गते चोथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सो दिनको नेप्से परिसूचक बढेर १६३७.३७ बिन्दुमा पुगेको थियो । जेठ २२ गते १६०२.६५ बिन्दुमा रहेको परिसूचक एकैदिन ३४.७२ बिन्दुले बढेको थियो ।
नियुक्त हुँदा १६०० बिन्दु माथि रहेको परिसूचक बाहिरिँदा भने घटेर १४०० बिन्दुभन्दा तल झर्यो । उनले २०७४ फागुन ३ गते सरकारको नेतृत्वबाट राजीनामा दिए । सो दिनभने नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ बिन्दुमा पुगेको थियो । जबकी अघिल्लो दिन अर्थात फागुन २ गतेको बजारमा परिसूचक १३८८.९४ बिन्दुमा रहेको थियो ।
हालको पुँजीबजार भने पर्ख र हेरेको अवस्थामा रहेको छ । प्रधानमन्त्री देउवा नेतृत्व सरकारको अर्थमन्त्रीमा पूर्व उर्जा जलस्रोत तथा सिचाइँमन्त्री जनार्दन शर्मा नियुक्त भएका छन् । अहिले प्रधानमन्त्री वा अर्थमन्त्री नियुक्तीलाई सेयर बजारमा त्यति धेरै असर नपार्ने लगानीकर्ताको भनाई छ ।
नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी पनि सरकार र अर्थमन्त्रीमा जो व्यक्ति आए पनि बजारमा खासै असर नपर्ने बताउँछिन् । ‘अहिलेको सिनारियो जस्तै राजनीतिक उतारचढाव लगायत अन्य जे कुरा आए पनि बढीमा २/३ दिन हो प्यानिक गराउने, त्यसपछि भने बजार आफ्नै लयमा फर्किने गरेको पाइन्छ, विगतका अभ्यास पनि यस्तै छन्,’ उनले भनिन् ।
त्यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आउने समय पनि नजिकिँदैछ । यसले पनि बजार घट्ने सम्भावना कम छ ।
सेयरको स्वर्णिम समय
बैशाखदेखि भदौसम्मको समय सेयर बजारका लागि स्वर्णिम देखिएको विगतका अभ्यासहरुले देखाउँदै आएको छ । एउटा गज्जवको प्रशंग त के भने नवनियुक्त प्रधानमन्त्री शेर बहादुर पनि यही समयमै प्रधानमन्त्रीमा नियुक्त भएको विगत छ ।
हालसम्म उनी बैशाखदेखि भदौ महिनाको समयभित्रै नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी पाँचै पटक प्रधानमन्त्री हुँदा नै सो समयभित्र नियुक्त भए । सेयर बजार बढ्ने समयमा प्रधानमन्त्रीको रुपमा नियुक्त हुनु नै शेरबहादुर देउवाका लागि सकारात्मक पक्ष हाे ।