आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि सर्वसाधारणमा सो मात्राको आईपीओको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि सर्वसाधारणमा सो मात्राको आईपीओको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

सेयर जारी गर्नुको उद्देश्य
कम्पनीको जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्रि गर्नुपर्ने व्यवस्थाका कारण सो मात्रा अर्थात प्रति सेयर एक सय अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमार्फत बीमा कम्पनीको सञ्चालनमा सर्वसाधरणहरुलाई समेत संलग्न गराउने इन्स्योरेन्सको उद्देश्य हो ।

साथै, कम्पनीले आवश्यक पुँजी संकलन गर्न तथा आफ्नो सेवा विस्तार गरी बीमा व्यवसाय बढाउनको लागि सेयर जारी गर्न लागेको हो ।

२१ करोड सेयर बजारमा लगानी गर्ने
आईपीओ जारी पश्चात इन्स्योरेन्सले ६० करोड रुपैयाँ संकलन गर्ने छ । जसमध्ये ३५ प्रतिशत अर्थात २१ करोड रुपैयाँ सेयर बजारमा लगानी गर्ने कम्पनीले जनाएको छ । त्यसमा पनि २५ प्रतिशत ऋणपत्र र १० प्रतिशत पब्लिक कम्पनीको सेयरमा लगानी गर्ने छ ।

र, बाँकी रहेको ६५ प्रतिशत अर्थात ३९ करोड रुपैयाँ भने विभिन्न संस्थाको फिक्स्ड डिपोजिट (एफडी) मा लगानी गर्ने छ । जसमध्ये वाणिज्य बैंकको मृद्दती निक्षेपमा ४०, विकास बैंकको मुद्दती निक्षेपमा १५ र वित्त कम्पनीको मृद्दती निक्षेपमा १० प्रतिशत रकम लगानी गरिने इन्स्योरेन्सले जनाएको छ ।

त्यस्तै, बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको अवसर प्रदान गरेकोले त्यस्ता क्षेत्रहरुमा पनि लगानी विस्तारको लागि पहल गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी आईपीओ जारी पश्चात २ अर्ब रुपैयाँ पुग्ने छ ।

हालको प्रतिस्पर्धी बीमा बजारमा कारोवार शुरु भएको छोटो अवधिमा पनि कम्पनीको व्यवसायिक तथा वित्तीय अवस्था संतोषजनक रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ४५ लाख रुपैयाँ, आ.व. २०७५/७६ मा ४४ करोड ४४ लाख रुपैयाँ, आ.व. २०७६/७७ मा ८३ करोड ८७ लाख रुपैयाँ र आ.व. २०७७/७८ को चैत मसान्तसम्ममा अघिल्लो वर्षको तुलनामा करिब ७६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा इन्स्योरेन्सको सञ्चित आय १० करोड ४८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा प्रतिसेयर नेटवर्थ १०९.६७ रुपैयाँ र प्रतिसेयर आम्दानी ६.१० रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको सञ्चित आय १७ करोड ४४ लाख रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ बढेर ११६.७६ रुपैयाँ र प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ पुग्ने कम्पनीको अनुमान रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.३३ रुपैयाँ र प्रतिसेयर आम्दानी १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

कम्पनी सचिवसहित इन्स्योरेन्सको सञ्चालक समिति

संस्थाको सञ्चालक समितिमा अध्यक्ष सहित ५ जना रहेका छन् । अध्यक्षमा कुमारप्रसाद कोइराला, सञ्चालकमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ, बद्री विशाल घिमिरे र स्वतन्त्र सञ्चालकमा भरत बहादुर थापा रहेका छन् । र, आईपीओ जारी पश्चात कम्पनीको सञ्चालक समितिमा एक जना महिला सञ्चालक नियुक्त गरिने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, इन्स्योरेन्सको कम्पनी सचिवमा अर्याक रञ्जन बराल रहेका छन् ।

इन्स्योरेन्सको उच्च व्यवस्थापकीय तहमा ६ जना रहेका छन् । प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया, महाप्रबन्धकमा शिवराम तिमिल्सीना, नायब महाप्रबन्धकमा चुडामणी चापागाई, मुख्य प्रबन्धकमा गणेश चौलागाई, आर्यक रञ्जन बराल र गुणराज श्रेष्ठ रहेका छन् । यिनीहरु कसैको पनि संस्थामा लगानी छैन र अन्य कुनै सूचीकृत संगठित संस्थाको आधारभूत सेयरधनी रहेका छैनन् ।

१० वटा जीवन बीमा योजना सार्वजनिक
काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको संस्थाले ७ वटा प्रदेश कार्यालय समेत ११८ वटा शाखा तथा उपशाखाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको छोटो अवधिमै कम्पनीले बजारमा १० वटा जीवन बीमा योजना ल्याईसकेको छ । इन्स्योरेन्सले हालसम्ममा सानिमा दिर्घायु, सानिमा सरल, सानिमा धनपति, सानिमा बाल सौगात, सानिमा दम्पत्ति, सानिमा शुभ लक्ष्मी, सानिमा धनसञ्चय, सानिमा वार्षिक धन फिर्ता, सानिमा कर्जा म्यादी र सानिमा जीवन श्री गरी कूल १० जीवन बीमा योजना सार्वजनिक गरी सञ्चालनमा ल्याईसकेको छ ।

कम्पनीले २०७४ मंसिर २२ गतेदेखि बीमाको कारोबार सञ्चालन गर्दै आएको छ । स्थापनाको छोटो अवधिमा संतोषजनक प्रगति गर्न कम्पनी सफल भएको र आगामी दिनहरुमा समेत स्वस्थ प्रतिस्पर्धात्मक ढंगबाट बीमा व्यवसाय बढाउँदै लैजान कम्पनी प्रतिवद्ध छ ।

आईपीओमा कहिलेसम्म र कति आवेदन दिन पाइन्छ ?
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरु सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

त्यस्तै, जारी गनै लागेको आईपीओको लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको जनाउने छ ।

Share News