काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज (साउन २० गते बुधबार)देखि खुला भएकाे छ । इन्स्योरेन्सले सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गरेकाे हाे ।
इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गरेको हो ।जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् ।
उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यस्तै, जारी गनै लागेको आईपीओको लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको जनाउने छ ।