मेलम्चीको बाढीले आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई धक्का

<p>काठमाडौं । मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा असर परेको छ । सो आयोजनामा बाढीले क्षति पुर्याएपछि त्यसको अप्रत्यक्ष असर २ बीमा कम्पनीमा परेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् र सुरुङ असर परेको प्रारम्भिक रुपमा देखिएपनि कति असर परेको र कति क्षति भएको छ भन्ने यकिन नभएको ठेक्का पाएको निर्माण कम्पनी सिनो [&hellip;]</p>

काठमाडौं । मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा असर परेको छ । सो आयोजनामा बाढीले क्षति पुर्याएपछि त्यसको अप्रत्यक्ष असर २ बीमा कम्पनीमा परेको छ ।

मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् र सुरुङ असर परेको प्रारम्भिक रुपमा देखिएपनि कति असर परेको र कति क्षति भएको छ भन्ने यकिन नभएको ठेक्का पाएको निर्माण कम्पनी सिनो हाइड्रो कर्पाेरेसनका एक अधिकारीले जानकारी दिए । क्षतिको विवरण यकिन नभएकोले कति रकम बराबरको बीमा दाबी गर्ने भन्ने अन्योल नै रहेको उनको भनाई छ ।

‘अहिलेसम्म हेर्दा हेडवर्कसमा अलि बढी क्षति पुगेको देखिएको छ, टनेल (सुरुङ) मा खासै असर देखिएको छैन तर, क्षतिको यकिन गर्नको लागि बीमा कम्पनीले नियुक्त गरेको भ्यालुएटरले अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैले हामीले क्षति पुगेको विवरण मात्रै कम्पनीमा लिष्टिङ गराएका छौं,’ ती कर्मचारीले विकासन्युजसँग भने ।

निर्माण कम्पनीका अनुसार हेडवर्क निर्माणका लागि १ अर्ब २ करोड र सुरुङ निर्माणका लागि ७५ करोड रुपैयाँको ठेक्का छ । निर्माण कम्पनीले यो रकममा १५ प्रतिशत भेरियसन खर्च समेत गरी २ अर्ब ३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा गराएको छ ।

सिनो हाइड्रोले आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग बीमा गराएको छ । कम्पनीले आईएमई जनरलसँग २ अर्ब ३ करोड ५५ लाख रुपैयाँ बराबरकै बीमा गराएको हो । तर, आईएमईले ७० प्रतिशत र शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशतको बीमा गराउने आन्तरिक व्यवस्थापन गरिएको छ । निर्माण कम्पनीले आईएमईसँग बीमा रकम दाबी गर्ने भएपनि आईएमईले ३० प्रतिशत रकम शिखरसँग दाबी गर्नेछ ।

यी दुबै बीमा कम्पनीहरुले निश्चित जोखिम आफैले लिएर बाँकी जोखिमको पुनर्बीमा गराएका छन् । पुनर्बीमा गराएको रकम बराबरको दायित्व पुनर्बीमा कम्पनीले लिने भएकोले यी दुबै बीमा कम्पनीहरुले त्यसपछिको दायित्व मात्रै आफूहरुले लिनेछन् ।

अन्योलमा छ मेलम्चीको भविष्य ?

मेलम्ची खानेपानी आयोजनका सुचना अधिकारी राजेन्द्र प्रसाद पन्त अहिले नै सो आयोजनाको भविष्यप्रति शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । बाढी पहिरोको कारण आयोजना सम्पन्न हुने समय थप हुने र लगानी पनि बढ्ने भएपनि आयोजना नै अब संकटमा पर्यो भनिहाल्न हतार हुने उनले बताए ।

‘अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजना फेरि ढिला हुने भएको छ, आयोजनाको हेडवर्कस् भन्दा माथिको भाग नहेरी हामीले आगामी माघ फागुनसम्ममा पानी काठमाडौं ल्याउन सकिन्छ होला भन्ने अनुमान गरेका थियौं तर, अवस्था अब त्यस्तो रहेन, पानी कहिले आउँछ भन्न सकिने अवस्था रहेन, अब मेलम्ची आयोजनाबाट पानी काठमाडौं ल्याउनै सकिँदैन भन्ने कुरा पनि होइन, अहिलेको इन्जिनियरिङले धेरै कुरा सम्भव बनाइदिएको छ, यत्रो लगानी र यतिका वर्षको समय लगाएर बनाएको आयोजना थप लगानी गरेर भएपनि सम्पन्न गर्नुपर्छ,’ पन्तले भने ।

उनले पहिरो गएको स्थानको व्यवस्थापन बाहेकको कामका लागि थप करिब ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पनि जानकारी दिए । पहिरो गएको स्थानको व्यवस्थापन गर्नको लागि थप लगानी आवश्यक पर्ने उनको भनाई छ ।

कति भयो खर्च ?

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यका ल्याउने आयोजना २० वर्षभन्दा अघिदेखि चर्चामा रहेको आयोजना हो । मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजल प्रशोधन केन्द्रसम्म पानी ल्याउन र सो प्रशोधन केन्द्र बनाउनसम्मको लागि अहिलेसम्म ३० अर्ब रुपैयाँ खर्च भएको मेलम्ची खानेपानी विकास आयोजनाले जानकारी दिएको छ ।

यस्तै, सुन्दरीजल प्रशोधन केन्द्रबाट उपभोक्ताको घरसम्म पानी पुर्याउनको लागि थप ३० अर्ब रुपैयाँ खर्च भएको छ । यी दुबै खर्च जोड्दा मेलम्ची खानेपानी आयोजनाको लागि ६० अर्ब रुपैयाँ खर्च भएको छ ।

Share News