काठमाडौं । लगानीकर्ता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पखाईमा रहेका छन् । पछिल्लो समयमा सेयर बजार सामान्य अंकले वृद्धि हुनुले बजारका लगानीकर्ताले मौद्रिक नीति कुरेर बसेको भन्ने बुझिन्छ ।
बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले आइतबार जस्तै सोमबारको बजारमा पनि झिनो अंकको वृद्धि भएको छ । सोमबारको बजार अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशत अर्थात १.४७ अंकले बढेर ३१०९.६० बिन्दुमा पुगेको छ ।
बजारमा कुल २२४ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर १४ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ६२८ रुपैयाँमा भएको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको अग्रस्थानामा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । अरुण भ्यालीसहित बढी कारोबार गर्नेको शीर्ष ६ स्थानमा सबै हाइड्रो कम्पनी रहेका छन् । अपर तामाकोशीको ५८ करोड ९९ लाख, अपि पावरको ५३ करोड ८० लाख, सिनर्जी पावर डेभलपमेन्टको ५० करोड ४५ लाख, यूनाईटेड मोदी हाइड्रोपावरको ४५ करोड ९० लाख र नेशनल हाइड्रोपावरको ४२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सो दिन आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डभेलपर्स, यूनियन हाइड्रोपावर र ज्योति विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, नाङ्दी ग्रुप पावरको ९.९९, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.९८ र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।