काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन् । उनले मंगलबार प्रतिनिधिसभा बैठकमा श्वेतपत्र जारी गरेका हुन् ।
उनले श्वेतपत्रमा सेयर बजारको बारेमा पनि बोलेका छन् । उनले सेयर बजारमा साना लगानीकर्ताको आकर्षण बढाउनु पर्ने र सेयर बजार पारदर्शी बनाउनु पर्ने बताएका हुन् ।
सेयर बजार सम्बन्धि श्वेतपत्रमा यस्तो लेखिएको छः
विसं. २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक वि.सं. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो।वि.सं. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ।
पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम्वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएकोछ.वि.सं. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.सं.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८प्रतिशत कायम भएको छ।
पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको छ भने उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति न्यून रहेको छ।पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको छ।
लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनुपर्ने भएको छ।साथै, पुँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने देखिन्छ।