काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्तीको काम सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकीकृत कारोबार शुरु गरेकोले संस्थाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । यससँगै आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको संस्थाले जानकारी गराएको छ ।
संस्थाको बोनस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउनेछन् ।
हाल संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख रुपैयाँ पुग्ने छ ।