साउदको जवाफः मलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न कानुनले रोकेको छैन

<p>काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिएका छन् । सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि [&hellip;]</p>

काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउँदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिए ।

‘हाम्रो संचालक समितिको आचार संहिताले के भन्छ भने रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यहीँ प्रावधान अन्तर्गत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर यो काम गरिएको होईन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु पर्यो नि ?’ उनले भने ।

प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचार माध्यामले सेयर कारोबारसम्बन्धि विद्यमान ऐन, कानुनको व्यवस्था नबुझि सर्वोच्च सिमेन्टको ओटिसी सेयर नियमक निकाय आफैले खरिद बिक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दावी समेत गरे ।

बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियाम निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरे । उनले आफैमाथि प्रश्न उठ्ने गरी गैर जिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिए ।

समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियामक निकायलाई सचेत गराइन् । उनले नेप्सेजस्ता संस्थाहरुलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गरेकी छिन् ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियामक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिए । उनले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भएपनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाए ।

Share News