काठमाडौं । अपि पावर कम्पनीले आगामी भदौ २५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे भर्च्युअल माध्यम जुम मार्फत आफ्नो १८औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीले प्रस्तावित बोनस र हकप्रद सेयर पारित गर्नको लागि उक्त सभाले आव्हान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १०.५ प्रतिशतका दरले बोनस सेयर दिने विशेष प्रस्ताव गरेको छ ।
त्यस्तै, उक्त बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ३९.३६ प्रतिशत अर्थात १ बराबर ०.३९३६ का दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई सभाले स्वीकृति दिने भएको छ ।
प्रस्तावित हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने जानकारी गराएको छ ।
साथै, सभाले उक्त आवको नाफाबाट सेयरधनीलाई कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने छ ।
१०.५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ कायम हुने छ । त्यसको ३९.३६ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ नाघ्ने छ ।
उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै भदौ १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित बोनस र हकप्रद सेयर पाउने छन् ।