काठमाडौं । मंगलबारको सेयर बजारमा अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ८६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
रकमको आधारमा मात्रै नभई सबैभन्दा बढी कित्ता सेयर किनबेच हुनेको अग्रस्थानमा पनि अपि पावर नै रहेको छ । मंगलबार मात्रै कम्पनीको १३ लाख ४१ हजार २४० कित्ता सेयर खरिद बिक्री भएको छ ।
कम्पनीले लाभांश र हकप्रद सेयर घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र बोनस पछि ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।
कारोबारसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ । सो दिन कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ६४० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८.२० रुपैयाँले बढेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य न्यूनतम ६३४ रुपैयाँदेखि अधिकतम ६७० रुपैयाँसम्ममा किनबेच भएको थियो ।
बोनस र हकप्रद पारित गर्न अपि पावरले डाक्यो साधारणसभा
समग्रमा मंगलबारको बजार सामान्य ०.२३ अंक अर्थात ०.०१ प्रतिशतले बढेर ३१६०.३२ बिन्दुमा पुगेको छ । दिनभरको कारोबारमा २२१ कम्पनीको कूल १८ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सामान्य अंकले बढेको बजारमा पनि १६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये पनि १२ कम्पनीको सेयर मूल्य १०/१० प्रतिशत र बाँकी ४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । जसमध्ये अधिकांश हाइड्रो कम्पनी रहेका छन् ।
सो दिन सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ३.८६ प्रतिशतले घटेर प्रतिइकाई १३.४६ रुपैयाँमा झरेको छ ।
मंगलबार बैंकिङ्ग, होटल्स् एण्ड टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य सूचक र ट्रेडिङ्ग समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।