काठमाडौं । बुधबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३२२० बिन्दुसम्म पुगेको थियो । जुन नेपाली पुँजीबजारको इतिहासमै उच्च बिन्दु हो ।
नियमित कारोबार खुलेको २० मिनेटको अवधिमा परिसूचक ओरालो लागेको थियो । त्यसपछि उकालोको बाटो तय गरेको बजार निरन्तर उकालो लागेर २ बजेतिर उक्त ३२२० बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको बजारभने सम्हालियो । र, अन्तत कारोबार बन्द हुँदा नेप्से परिसूचक ३१९८.१९ बिन्दुमा अडिएको छ । जुन दैनिक क्लोजिङ्को उच्चतम बिन्दु पनि हो ।
मंगलबारको तुलनामा बुधबारको बजार ३७.८७ बिन्दुले उकालो लागेको हो । परिसूचकमा मात्रै नभई सेयर कारोबारमा पनि सुधार भएको छ । बजारमा एकैदिन २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै दोश्रो उच्च कारोबार हो । यसअघि गत आइतबार(साउन ३१ गते) को बजारमा मात्रै हालसम्मकै उच्च अर्थात २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बजारमा २२८ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ७८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४९८ रुपैयाँमा भएको छ ।
दोहोरो अंकले बढेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् ।
बुधबार अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्टस् र जीवन विकास लघुवित्तको सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ । त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर मूल्य सर्किट लेभल अर्थात क्रमशः ९.९८ र ९.९६ प्रतिशतले बढेको छ ।
बुधबार तीन समूह बाहेक बाँकी सबै समूहमा हरियाली देखिएको छ । सबैभन्दा बढी विकास बैंक समूह ३३४ बिन्दुले उकालो लागेको छ ।