काठमाडौं । लगानीकर्ताले दोस्रो बजारबाट सेयर खरिद गर्दा वा आफूसँग भएको सेयर विक्री गर्ने कि नगर्ने भन्ने सन्दर्भमा विभिन्न सुचकलाई आधार बनाउँछन् ।
दोस्रो बजारमा सुचिकृत कम्पनीले कति लाभांश दिन सक्छ भन्ने आकलन गर्ने सबैभन्दा भरपर्दाे सुचन प्रतिसेयर आम्दानी (ईपीएस) हो । कुनै पनि कम्पनीको ईपीएस जति छ सो बराबरको लाभांश दिन सक्ने अनुमान गर्न सकिन्छ ।
जस्तो कि कुनै कम्पनीको ईपीएस २० छ भने सो कम्पनीले २० प्रतिशत लाभांश दिन सक्छ । नेपालमा भने नगद लाभांश भन्दा बोनस सेयरलाई नै उच्च महत्व दिने गरिएको छ । जुन कम्पनीले बोनस सेयर दिने गर्छ त्यो कम्पनीको सेयरमूल्य बढ्ने गरेको देखिन्छ भने साधारण लागनीकर्ता पनि बोनस सेयरबाट दंग परेको पाइन्छ ।
कम्पनीले दिन सक्ने लाभांशबाट कति प्रतिशत नगद र कति प्रतिशत बोनस सेयर दिन सक्छ भन्ने आकलन गर्न भने सकिदैन । कम्पनीले दिने लाभांश बोनस सेयर वा नगद वा दुबै जस्तो पनि हुन सक्छ ।
अहिले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण धेरै राम्रो अवस्थामा छ । पुँजी बजार मापक नेप्से परिसुचकले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ भने कारोबार रकम पनि दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा हुने गरेको छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता नियामक निकायले दोस्रो बजार धेरै माथि पुगेकोले सोच विचार गरेर मात्रै लगानी गर्न लगानीकर्तालाई वाध्यपार्ने नीतिगत व्यवस्थाहरु गरिरहेका छन् । तर, लगानीकर्ताहरु नियामक निकायका यी ‘सालिन सुझाव’प्रति कुनै झुकाव नै देखाउँदैनन् ।
यसै सन्दर्भमा हामीले दोस्रो बजारमा वाणिज्य बैंकहरुको सेयर खोज्नका लागि ईपीएस हेरेर लगानी गर्ने हो भने कुन बैंकको कति ईपीएस छ भनेर जानकारी दिएका छौं । तर, हामीले यहाँ उल्लेख गरेको ईपीएस दर अनुसार नै यी बैंकहरुले लाभांश दिन्छन् भन्ने ग्यारेन्टी भने छैन । त्यसैले ईपीएसकै आधारमा यो कम्पनीले यति प्रतिशत लाभांश दिने रहेछ भनेर सेयर खरिद गर्ने गल्ती भने नगर्नु होला । बैंकहरुले विगतमा गरेको आम्दानी सेयरधनीलाई वितरण नगरी राखेका रहेछन् भने त्यस्तो आम्दानी वितरण गर्दा बढी पनि हुन सक्छ ।
कुन बैंकको कति छ ईपीएस ?
हामीले गत असार मसान्तसम्मको व्यवसायका आधार बैंकहरुले प्रकाशित गरेको परिष्कृत वित्तीय विवरणबाट बैंकहरुको ईपीएस लिएका हौं । अन्तिम लेखापरीक्षण हुँदा तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले गरेको नियमन र सुपरीवेक्षणबाट बैंकहरुको ईपीएस परिवर्तन पनि हुन सक्छ । किनभने हामीले यहाँ प्रस्तुत गर्ने ईपीएस अपरिष्कृत वित्तीय विवरणका आधार मात्रै हो ।
राष्ट्रिय वाणिज्य बैंकको ईपीएस ४१.३२ प्रतिशत छ । यद्यपि, यो बैंकले सर्वसाधारणलाई आईपीओ जारी नगरेकोले दोस्रो बजारका लागि राष्ट्रिय वाणिज्य बैंकको ईपीएस खासै खोजीको विषय होइन ।

नविल बैंकको ईपीएस ३३.४ प्रतिशत छ । यस्तै, कृषि विकास बैंकको ३०.६५, एनआईसी एसिया बैंकको २८.२१, हिमालयन बैंकको २८.०६, सिद्धार्थ बैंकको २५.८७ र नेपाल बंगलादेश (एनबी) बैंकको २५.४६ प्रतिशत ईपीएस छ ।
यस्तै, नेपाल बैंकको २४.२६, सानिमा बैंकको २३.५१, नेपाल इन्भेष्टमेन्ट बैंकको २२.५७, एभरेष्ट बैंकको २०.५६, प्राइम बैंकको २०.२४ र ग्लोबल आईएमई बैंकको १९.०८ प्रतिशत छ । बैंकहरुले प्रकाशित गरेको गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरणका अनुसार माछापुच्छ्रे बैंकको १८.०१, प्रभु बैंकको १७.७३, एनएमबी बैंकको १६.७८, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १६.३५, बैंक अफ काठमाडू (बीओके) को १५.९ प्रतिशत ईपीएस छ ।
यस्तै, सनराइज बैंकको १५.८४, मेगा बैंकको १५.७८, सिटिजन्स बैंक इन्टरनेसनलको १५.३८, कुमारी बैंकको १४.४२, लक्ष्मी बैंकको १४.४१, एनसीसी बैंकको १२.३२, नेपाल एसबीआई बैंकको १०.१२, सेन्चुरी बैंकको ८.३ र सिभिल बैंकको ईपीएस ६.४७ प्रतिशत छ ।