लाइफ इन्स्योरेन्सले कमाए एक खर्ब बढी बीमाशुल्क, दुई कम्पनी अर्ब क्लबमा प्रवेश

<p>काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीको कूल बीमाशुल्क ३१.१३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ वटा जीवन बीमा कम्पनीको कूल बीमाशूल्क अघिल्लो वर्षको तुलनामा ३१.१३ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार उनीहरुले अघिल्लो वर्षको [&hellip;]</p>

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीको कूल बीमाशुल्क ३१.१३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ वटा जीवन बीमा कम्पनीको कूल बीमाशूल्क अघिल्लो वर्षको तुलनामा ३१.१३ प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार उनीहरुले अघिल्लो वर्षको तुलनामा २६ अर्ब ९३ करोड रुपैयाँ बढी कूल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आव २०७६/७७ को असार मसान्तसम्ममा ८३ अर्ब ५२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका कम्पनीले गत आवको सोही अवधिसम्ममा १ खर्ब १३ अर्ब ४५ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ३२ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.१६ प्रतिशतले बढी हो ।

त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । समीक्षा अवधिमा कम्पनीले १७ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.८८ प्रतिशतले बढी हो ।

त्यसैगरी, तेश्रोमा नेशनल लाइफ रहेको छ । अघिल्लो आवमा ९ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले गत आवमा १२ अर्ब ५४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यो अवधिमा सबै जीवन बीमा कम्पनीले आफ्नो व्यवसाय बढाएका छन् । कोरोना महामारीमा पनि उनीहरुले आफ्नो व्यवसाय बढाउन सफल भएका उनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणले देखाएकाे छ ।

जीवन बीमा कम्पनीमध्ये दुइ कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । महालक्ष्मी लाइफ र सानिमा लाइफ इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । जसमध्ये सानिमा लाइफ इन्स्योरेन्स एक अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । जुन एक वर्षको तुलनामा १३६।१४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ८३ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा ८६ करोड रुपैयाँ मात्रै थियो । र, गत आवमा सबैभन्दा कम कूल बीमाशुल्क संकलन गर्नेमा इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ ।

जीवन बीमाको व्यवसाय सञ्चालन गर्दै आएको राष्ट्रिय बीमा संस्थानले पनि गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । तर उक्त विवरणमा कम्पनीको कुल बीमाशुल्क भने उल्लेख गरिएको छैन ।

कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७.३७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Share News