काठमाडौं । राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आजोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको थालनी गरेको हो ।
यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाईनबाटै आफ्नो बैंक÷वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
उक्त भुक्तानीको लागि ग्राहकले www.connectips.com मा लग-इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको “फाइनान्सियल इन्टिट्युसन” भित्र “इन्स्योरेन्स पेमेन्ट” मा “राष्ट्रिय बीमा संस्थान” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी बीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमकको जन्ममिति (इङ्ग्लिस मिति अनुसार) दाखिला गरी आफ्नो ट्रान्सज्याक्सन पासवर्ड तथा ओटीपी प्रयोग गरी बैंक वित्तिय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।
राष्ट्रिय बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनत्ती गरी एनसीएचएलको नेशनल पेमेन्टस् इन्टरफेस(एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौता पछी कार्य अघि बढाएको हो । हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अन्लाईन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ । ५३ वर्ष देखि सेवा प्रदान गर्दै आएको बीमा संस्थानको डिजिटलाईजेसनको यस कदमले संस्थानको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कोषे ढुंगाको रुपमा लिइएको छ ।
राष्ट्रिय बीमा संस्थान सँगै ३० जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट भइरहेको छ भने ८ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् । कनेक्ट आईपीएसमा ५४ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा अन्य सबै जसो भुक्तानीका कारोबारहरु हुँदै आएका छन् ।
उक्त कार्यक्रममा संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।