काठमाडौं । चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा उच्च गिरावट देखिएको छ । बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको हो ।
बजारमा नेप्से परिसूचक कारोबार शुरु भएदेखि निरन्तर घटेको छ । दिनभरको कारोबारमा परिसूचक ५५.८९ अंकले घटेर ३१२५ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा १.७६ प्रतिशतले घटी हो ।
त्यस्तै, सो दिन १६ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा ४ अर्ब ३७ करोड रुपैयाँले घटी हो । गत बिहीबारको बजारमा २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
२२५ कम्पनीको सेयर कारोबार भएको बजारमा बढी कारोबार गर्नेको सूचीमा अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । जसको एकैदिन ७५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यसैगरी, बढी गुमाउनेको सूचीमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । अधिकांशको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सो दिन कूल १९ कम्पनीको सेयर मूल्य १० प्रतिशतको लेभलमा घटेको छ ।
बजारमा फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी विकास बैंक समूह २४१.४० अंकले घटेको छ । र, दोश्रोमा हाइड्रो समूह २३२ अंकले घटेको छ ।