काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।
१७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरेका थिए ।

नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रबन्धक विनोद दासले आइएमई ग्रुप र सलाम एयरले यात्राकाे लागि गरेकाे सहयोगले आफु र आफ्नो टीमलाई हौसला मिलेकाे बताए ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो ।
यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।