काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बुधबार भदौ ९ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेसँगै सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको थियो । कम्पनीले उनीहरुलाई ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो ।
यससँगै कम्पनीले भदौ ९ गतेदेखि दोस्रो चरणमा ८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।
त्यस्तै, उक्त सेयरमा आवेदन दिन इच्छुकले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्ममा आवेदन दिन पाउनेछन् । यदि सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा आगामी भदौ २३ गतेसम्म बिक्री खुला गरिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।
उक्त आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।