काठमाडौं । सगरमाथा इन्स्योरन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरको छलफल चलेको छ । मर्जरमा जानको लागि दुबै कम्पनीका संचालकहरु छलफलमा जुटेका हुन् ।
दुई कम्पनीबीच मर्जरमा जाने सैद्धान्तिक सहमति भएको र प्राविधिक विषयमा छलफल चलिरहेको स्रोतले जानकारी दियो ।
कम्पनीको नाम सगरमाथा इन्स्योरेन्स कम्पनी नै राख्नको लागि हिमालयन जनरलतका प्रमोटर तयार देखिएका छन् । यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत पनि सगरमाथाका अहिलेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई नै दिने र हिमालयनको तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत राख्ने मौखिक सहमति भइसकेको स्रोतको भनाई छ ।
मर्जरमा स्वाप रेसियोको लागि प्रारम्भिक छलफल भएको छ । सगरमाथाको सेयर मूल्यांकन बढी हुने भएको छ । प्रारम्भिक सहमति अनुसार सगरमाथा र हिमालयनको सेयर स्वाप अनुपात १ः०.८ हुने भनिएको छ । अर्थात सगरमाथाको सय कित्ता सेयर हुनेले मर्जरपछि पनि सय कित्ता नै सेयर पाउने छन् भने हिमालयनको सय कित्ता सेयर हुनेले ८० कित्ता पाउने छन् ।
यद्यपि, हिमालयनका तर्फबाट सय कित्ता बराबर ९० कित्ता सेयर हुनुपर्ने अडान पनि आएको छ । हिमालयनका तर्फबाट नयाँ प्रस्ताव आएपछि सगरमाथाले ७५ कित्ता मात्रै दिन सकिने नयाँ अडान अघि सारेको छ । दुबै कम्पनीका प्रमोटरहरुले हिमालयनका सय कित्ता सेयर हुनेले ८० देखि ८५ कित्ता सेयर पाउने गरी सहमति हुन सक्ने पुष्टी गरे ।
मर्जरको लागि आन्तरिक छलफल चलिरहेको समयमा स्टक मार्केटमा सुचना चहिएको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीका अधिकारीहरु भने केही असन्तुष्ट भएका छन् ।
‘हामी आन्तरिक छलफल गरिरहेका छौं, मर्जरले अन्तिम रुप लिइसकेको पनि होइन, दुबै कम्पनीका संचालक समितिले निर्णय गरेर थप कुरा भएको पनि होइन, प्रभावशाली प्रमोटरहरुले मर्जरमा जानुपर्छ र यसरी जान सकिन्छ भन्ने प्रारम्भिक छलफल चल्दा नै हिमालयन इन्स्योरेन्सको तर्फबाट स्कट मार्केटमा सुचना चुहिएको पाइएको छ, यो राम्रो काम भएन भनेर हामीले उहाँहरुलाई भनिसकेका छौं,’ सगरमाथा इन्स्योरेन्स कम्पनीका एक अधिकारीले भने ।
यद्यपि, दुबै कम्पनीका प्रमोटरबीच यसै साता थप छलफल भएर अघि बढ्ने सम्भावना रहेको दुबै कम्पनी स्रोतले जानकारी दिएको छ ।