काठमाडौं । गत बिहीबारदेखि बन्द भएको सेयर बजार एकैपटक मंगलबार खुल्यो । तर लगातार चारदिन बन्द भएर खुलेको बजारमा पनि चार्म देखिएन । लगानीकर्ता उत्साहित देखिएनन् ।
मंगलबारको बजार एकाएक ५५.८९ अंकले घट्यो । मंगलबार मात्रै होइन बुधबारको बजार पनि ४८.४२ बिन्दुले घटेको छ । योसँगै दुई दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक १०४.३१ बिन्दुले घटिसकेको छ । गत बिहीबार ३१८०.९० बिन्दुमा रहेको परिसूचक दुई दिनमै ३०७६.४५ बिन्दुमा झरेको छ ।
परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । बिहीबार २० अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा मंगलबार १६ अर्ब १२ करोड रुपैयाँ मात्रै कारोबार भएको छ । त्यस्तै, बुधबारको बजारमा झन् सेयर कारोबार रकम १२ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यससँगै दुई दिनकै बजारमा कारोबार रकम ८ अर्ब ४० करोड रुपैयाँले घटेको छ ।
यससँगै यो साताको सेयर कारोबारको ट्रेण्ड हेर्दा बजार निरन्तर रुपमा घटीरहेको छ । दिनमा उतारचढाव हुँदै घटबढ हुने बजार यो दुई दिनको कारोबारमा भने परिसूचक एकनास रुपमा घटीरहेको देखिन्छ ।
यससँगै, केही लगानीकर्ताहरु भने बजार बियरिसतर्फ मोडिएको अनुमान गरिरहेका छन् । तर पुँजीबजार लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधिहरु भने बजारले अहिल्यै बियरिसको बाटो नसमात्ने बताउँछन् ।
यसो भन्छन् उनीहरु
बजार अहिल्यै बियरिसतर्फ लागेको भन्न मिल्दैनः छोटेलाल रौनियार
निरन्तर रुपमा बढेको मार्केट एक दुई दिन घट्दैमा बियरिस लाग्छ भन्न मिल्दैन, बजारमा अलि अलि करेक्सन भएको पक्कै हो ।
राष्ट्र बैंकले सेयर धितोमा मार्जिन कर्जामा ४ करोड र १२ करोडको सिन्डिकेट तोकेसँगै लगानीकर्ता डराएका हुन् । तर सबै डराएका छैनन् त्यस्ता लगानीकर्ता जसले बढी लोन लिएका थिए तिनीहरु मात्रै डराएका हुन् । यो भन्दैमा समग्र मार्केट नै ओरालो लाग्छ भन्ने होइन ।
अहिलेको मार्केट पहिलाको जस्तो होइन, पहिला धेरै कम लगानीकर्ता थिए, त्यसमाथि पनि अनलाइनबाट कारोबार गर्ने कम थिए, अहिले ९९ प्रतिशतबढी कारोबार अनलाइनबाटै भइरहेका छन्, देश विशेदबाट कारोबार भइरहेको छ, त्यसैले बजार पहिलेको जस्तो हुँदैन, बजार बढेपछि घट्छ, घटेपछि बढ्छ नै ।
अहिले केही नयाँ व्यवस्था आयो, त्यसैले बजारमा करेक्सन भएको हो । भोली आफ्नो बाटो लिइहाल्छ ।
त्यसैले बजारमा डराउनु पर्ने, मार्केट नै क्रयास हुने केही छैन । घट्नु बढ्नु स्वभाविक हो । हामीले राम्रो तथा बलियो स्क्रिप्टहरु, बोनस, लाभांश लगायत हकप्रद दिने खालका स्क्रिप्टहरुमा ढुक्क भएर लगानी गर्दा हुन्छ ।
पछिल्लो समय चार्म बढी भएको हाइड्रो घटेपछि इन्डेक्स पनि घट्योः संरक्षणा चौधरी
बजारमा बियरिस लागेको होइन । लगानीकर्ताले प्रफिट बुक गरे । र, पछिल्लो समय राष्ट्र बैंकले मार्जिन कर्जामा गरेको नयाँ व्यवस्थाले अलिकति असर गरेको हो । नेप्से घटेपनि बजारमा कारोबार भएको छैन । यसले लगानीकर्ताले होल्ड गरिरहेका छन्, किनबेच गर्न इच्छुक छैनन् भन्ने बुझिन्छ ।
धेरै समयदेखियता बजारमा हाइड्रोले नै लिड गरिरहेको छ । बीचबीचमा केही करेक्सन आउँदै बढीरहेको छ । बुल मार्केटमा हाइड्रोको चार्म बढी भयो । अहिले हाइड्रो घटेपछि इन्डेक्स पनि घटिदियो । तर, ढिलोचाँडो मार्केट लयमा आउँछ ।
राष्ट्र बैंकले बजाएको बेमौसमी बाजाको असर: राधा पोखरेल
राष्ट्र बैंकले जारी गरेको सर्कुलरकै असर बजारमा परेको हो । लगानीकर्तालाई हात खुट्टा बाधेर पोखरीमा पाैडी खेल भनेर लगाइदिए पछि त गाह्रो पर्छ । बजार थाम्ने भनेको ठूला लगानीकर्ताले नै हो ।
सेन्टिमेन्टले नै बजारलाई असर गर्छ । राष्ट्र बैंकले बेमौसमी बाजा बजाइरहेको छ । भन्नत उनीहरुले हामीले लिने नीतिले सेयर बजारलाई कहिल्यै नराम्रो हुँदैन । राम्रो हुन्छ भनिरहेका हुन्छन् । तर, उनीहरुले क्षणिक समयमै लिने परिवर्तित नीतिले लगानीकर्तालाई अफ्ठ्यारो पारिरहेको छ ।
लगानीकर्ताले एउटा नीति अनुसार आज लगानी गरेका हुन्छन् । तर त्यो रातारात चेञ्ज भैदिन्छ । र, उनीहरु मारमा परिरहेका हुन्छन् ।