काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुका लागि विकास बैंकहरु प्रमुख क्षेत्रका रुपमा देखिएका छन् । केही सातादेखि विकास बैंकहरुकाे सेयरकाे माग बढ्दाे छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले राम्रै प्रगति गरेका छन् । ८ वटै बैंकको प्रतिसेयर आम्दानीदेखि लाभांश दिने क्षमतामा वृद्धि भएकाे छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार ८ विकास बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस), खराब खर्जा (एनपीएल), चुक्ता पूँजी, जगेडा कोष, बैंकको आधार दर र लाभांश क्षमताको बारेमा यहाँ प्रस्तुत गरिएको छ ।
ईपीएसमा कामना सेवा अगाडि
८ वटा राष्ट्रिय बैंकहरुमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) हुने बैंकको सूचीमा कामना सेवा विकास बैंक देखिएको छ । कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६.४० रुपैयाँ छ । यस्तै, दोस्रो बढी ईपीएस हुने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकको ईपीएस २३.९२ रुपैयाँ छ ।
गरिमा विकास बैंकको २२.४५, ज्योति विकास बैंकको १९.२९, महालक्ष्मीको २१.९३, लुम्बिनीको १७.७६, साँग्रिलाको १५.२३ र साइन रेसुङ्गा बैंकको १५.१० रुपैयाँ ईपीएस रहेको छ ।
मुक्तिनाथको खराब कर्जा कम
सबैभन्दा कम खराब कर्जा (एनपीएल) हुने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकको एनपीएल ०.२५ प्रतिशत छ । सबैभन्दा बढी एनपीएल हुने विकास बैंक भने महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको एनपीएल ३.३२ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।
यस्तै, लम्बिनी विकास बैंकको एनपीएल २.१३ प्रतिशत, साँग्रिला विकास बैंकको १.४ प्रतिशत, कामना सेवाको १.५ प्रतिशत, साइन रेसुङ्गाको ०.९९, ज्योतिको ०.८० र गरिमा विकास बैंकको ०.७२ प्रतिशत एनपीएल देखिएको छ ।
चुक्ता पुँजीमा पनि मुक्तिनाथ अगाडि
बैंकहरुले सार्वजिनक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा बढी चुक्ता पुँजी हुने बैंक मुक्तिनाथ विकास बैंक देखिएको छ । यो बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ । ज्योति विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ, गरिमा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको कुल चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ देखिएको छ ।
यस्तै, साइन रेसुङ्गा बैंकको ३ अर्ब ४० करोड, कामनासेवा विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड, लुम्बिनीको २ अर्ब ९० करोड र साँग्रिला विकास बैंकको २ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
लुम्बिनीको जगेडा बढी
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुको तुलनामा सबैभन्दा ठूलो जगेडा कोष लुम्बिनी विकास बैंककाे देखिएको छ । लुम्बिनी विकास बैंकको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । दोस्रो बढी जगेडा कोष हुने विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक रहेको छ । यो बैंकको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ छ ।
यस्तै, मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा १ अर्ब १२ करोड, साइनरेसुङ्गाको १ अर्ब ३ करोड, गरिमाको १ अर्ब, ज्योति विकास बैंकको ८७ करोड, कामना सेवाको ८४ करोड र साँग्रिलाको ६७ करोड रुपैयाँ रहेको छ ।
आधारदरमा साइन रेसुङ्गा राम्रो
आधार दर सबैभन्दा कम हुने बैंकको सूचीमा साइन रेसुङ्गा बैंक रहेको छ । सो बैंकको आधार दर ६.७१ प्रतिशत छ । मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको आधारदर ७.२८ प्रतिशत छ । यस्तै, अन्य ५ वटा विकास बैंकको आधार दर ८.१७ प्रतिशतदेखि ८.५४ प्रतिशतसम्म रहेको छ ।
लाभांशमा कुन बैंक राम्रो ?
सार्वजनिक भएका वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिन सक्ने बैंकका रुपमा मुक्तिनाथ विकास बैंक रहेको छ । ८ वटै विकास बैंकहरुको औसत लाभांश क्षमता १४.७१ प्रतिशत देखिएका छ ।
मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता १७.८८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार मुक्तिनाथ विकास बैंकको कुल वितरणयोग्य नाफा ८६ करोड ५ लाख रुपैयाँ छ भने बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ । यसको आधारमा मुक्तिनाथ विकास बैंकको कुल लाभांश क्षमता १७.८८ प्रतिशत छ ।
यस्तै, लाभांश बढी दिने विकास बैंकको रुपमा गरिमा विकास बैंक देखिएको छ । गरिमा विकास बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ भने लाभांश क्षमता १६.४७ प्रतिशत रहेको छ । लाभांश बढी दिने बैंकको तेस्रो नम्बरमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको वितरणयोग्य नाफा ५६ करोड रुपैयाँ छ । यसको आधारमा बैंकको लाभांश क्षमता १६.८६ प्रतिशत छ ।
यस्तै, कामना सेवा बैंकको लाभांश क्षमता १६.३८ प्रतिशत छ । ज्योति विकास बैंकको पनि कुल वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ । बैंकले १५.६८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।