काठमाडौं । पछिल्लो एक सातादेखि ओरोलो लागेको सेयर बजार बिहीबार भने उकालो लागेको छ । त्यसमा पनि मंगलबार र बुधबार उच्च अंकले घटेको बजार आज भने दोहोरो अंक अर्थात १७.६० अंकले उकालो लागेको हो ।
जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले बढी हो । तीव्र उतारचढाव देखिएको बिहीबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३०९४.०५ बिन्दुमा पुगेको छ ।
परिसूचकसँगै सेयर कारोबारमा पनि सुधार भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ३३ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको बजारमा बिहीबार भने १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार २३२ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । त्यसमा पनि अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रहेको छ । कम्पनीको एकैदिन ९३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ७२० रुपैयाँमा भएको छ ।
त्यस्तै, दोश्रोमा अरुण काबेली पावर र तेश्रोमा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यिनीहरुको क्रमशः ४५ करोड ६ लाख र ३४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । र, अन्तिम सेयर कारोबार प्रतिकित्ता ८२७ र १०६३ रुपैयाँमा भएको छ ।
बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । विकास बैंक, फाइनान्स, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर र माइक्रोफाइनान्स समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । हरिया देखिनेमा पनि सबैभन्दा बढी विकास बैंक २३८.६३ अंकले उकालो लागेको छ । र, त्यसपछि हाइड्रो समूह १७७.८९ बिन्दुले उकालो लागेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिनभरको बजारमा ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमध्ये अधिकांश हाइड्रो समूहका कम्पनी रहेका छन् ।
अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट र दिब्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।