नेप्से ४९ अंकले घट्दा कारोबार बढ्यो, फाइनान्स बाहेक सबै राताम्मे

<p>काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजार अन्त्यमा ४९.१८ अंकले घटेर ३०४४.८७ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.५९ प्रतिशतले घटी हो । परिसूचकमा उच्च गिरावट आएको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । आइतबारको बजारमा कूल १५ अर्ब ६५ करोडको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजार अन्त्यमा ४९.१८ अंकले घटेर ३०४४.८७ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.५९ प्रतिशतले घटी हो ।

परिसूचकमा उच्च गिरावट आएको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । आइतबारको बजारमा कूल १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा २ अर्ब २३ करोड रुपैयाँले बढी हो । गत बिहीबारको बजारमा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । नेप्से घटेसँगै लगानीकर्ताले डराएर सेयर बेच्दा कारोबार रकममा वृद्धि भएको बुझिन्छ ।

बजारमा फाइनान्स बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उच्च अंकले घटेको बजारमा पनि फाइनान्स समूह २२.१९ अंकले बढेको छ । ओरालो लाग्नेमा सबैभन्दा बढी जीवन बीमा समूह ३०४ अंकले घटेको छ । त्यस्तै, इन्भेष्टमेन्ट र म्युचुअल समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेर राताम्मे देखिएका छन् ।

आइतबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७७५ रुपैयाँ रहेको छ ।

निरन्तर घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य क्रमशः ११३७ र ४३२ रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी रुरु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घटेको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १४९५ रुपैयाँमा भएको छ ।

Share News