काठमाडौं । नेपाल इन्भेष्टर्स फोरम (एनआईएफ) को अध्यक्षमा तलुसीराम ढकाल चयन भएका छन् । भदौ १२ गते सम्पन्न फोरमको वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष पदमा चयन गरेको हो ।
यससँगै, नवनिर्वाचित अध्यक्ष ढकालले आगामी दुई वर्ष फोरमको नेतृत्व सम्हाल्ने छन् । यसअघि उनी फोरमकै उपाध्यक्ष पदमा आवद्ध रहेका थिए ।
ढकाल २०५६ सालदेखि नै पुँजीबजारमा आवद्ध रहेका छन् । पुँजीबजारमा २ दशक बढी बिताएका उनी लामो समयदेखि इन्भेष्टर्स फोरममा सदस्यको रुपमा जोडिएको उनी बताउँछन् ।
त्यस्तै, हाल उनी विभिन्न संस्थाका सञ्चालकमा समेत रहेका छन् । उनी चिलिमे जलविद्युत कम्पनी, मध्येभोटेकोशी हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीमा सञ्चालकका रुपमा रहेका छन् । साथै, उनी अन्य विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध रहेको उनले बताएका छन् ।
‘पुँजी बजारलाई उद्योगको रुपमा स्थापित गराउनु पर्छ’
नवनिर्वाचित अध्यक्ष ढकालले नेपालको पुँजी बजारलाई उद्योगको रुपमा स्थापित गर्नुनै फोरमको प्रमुख उद्देश्य रहेको बताएका छन् ।
‘हाम्रो फोरम नेपालको पुँजीबजारको हकहित र विकास गर्ने उद्देश्यले खोलिएको संगठन हो । जसले पुँजीबजारलाई सम्यमित, मर्यादित र अनुशासित तरिकाको उद्योग बनाउन अघि बढ्ने छ, यसको लागि हामी सबै निरन्तर लागि पर्ने छौं ।
नवनिर्वाचित अध्यक्ष ढकालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । दुरदराजका लगानीकर्ताले पनि लगानी गर्ने अवसर पाउन् भन्ने उद्देश्यले बैंकलाई ब्रोकर लाइसेन्स दिन आवश्यक रहेको उनले बताएका छन् ।
‘हामीले विशेष गरी बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनिरहेका छौं, आम लगानीकर्ताको माग पनि यहि नै छ, त्यसैले यसलाई छिट्टै नै कार्यान्वयन ल्याउन जोड दिन पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने ।
ढकालको नेतृत्वमा बन्यो इन्भेष्टर्स फोरमको नयाँ कार्यसमिति, उपाध्यक्षमा लम्साल र तुलाधार
साथै, उनले ब्रोकरहरुको कमिसनलाई पनि समयानुकुल संसोधन गरिनुपर्ने बताएका छन् ।
‘पछिल्लो समय ब्रोकर कमिसन बढी भयो भन्ने कुरा उठिरहेको छ, जसरी कारोबार बढ्दै गयो, त्यसैगरी ब्रोकर कमिसन पनि घट्नु पर्छ भन्ने हाम्रो मान्यता हो । यसलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं,’ उनले भने ।
अहिलेको अवस्था अनुसार कमिसन कति जति घटाउँदा उपयुक्त होला भन्ने विकासन्युजको प्रश्नमा उनले भने- अहिले मैले यतिउति घटाउनु पर्छ भन्नुभन्दा पनि यो विषय सबै सरोकारवालाहरुसँग छलफल गरेर मात्रै निर्धारण गर्नु पर्ने विषय हो । त्यसपछि मात्रै कार्यान्वयनमा ल्याउँदा उपयुक्त हुन्छ । तर, समय परिस्थिति अनुसार यसमा पुनर्विचार गर्न आवश्यक देखिएको छ ।’
साथै, विभिन्न लगानीकर्ता संगठनले यसअघि पेश गरेको ५८ बुँदे मागमध्ये बाँकी रहेका सबैको सम्बोधन गर्नुपर्छ । यसको लागि फोरम नियामकसँग कटिवद्ध भएर लाग्ने उनले बताएका छन् ।
अर्को, पछिल्लो सयम नेपाल राष्ट्र बैंकले सेयर धितोमा तोकेको ४ करोड र १२ करोडको सिन्डिकेटमा पनि स्पष्टता हुनुपर्ने उनले जनाएका छन् ।
‘चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले १२ करोड रुपैयाँ मात्रै लोन लिन पाउने सीमा तोकेको छ, तर यसमा स्पष्टता छैन, अहिलेको नीतिमा मार्जिन प्रकृतिको लोन भनिएको छ, यता मार्जिन प्रकृति र सेयर धितो लोन भन्ने अलग अलग हो, यसमा दुविधा छ, जसलाई स्पष्ट गराई के कसरी सहजीकरण गर्ने भन्नेमा हामी लबिङ्ग गर्ने छौं,’ अध्यक्ष ढकालले बताए ।
साथै, सँधै १२ करोडको सीमा तोकिनु हुँदैन र बजारको अवस्था हेरेर सीमा बढाउनु पर्छ भन्ने उनको धारणा रहेको छ ।
पुँजी बजारको हकहितको लागि नेपाल राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्री जनार्दन शर्मा कटिबद्ध रहेका बताउँदै उनले नियमन निकायसँग हातेमालो गरेर पुँजीबजारका पोलिसी बनाउनमा सहजीकरण गर्ने समेत जनाएका छन् ।
‘विशेष गरी ब्रोकर साथीहरु, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से), नियमन निकाय नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग हातेमालो गरेर बजार विकासको लागि हामी अघि बढ्ने छौं ।’
त्यस्तै, फोरममा थोरै सदस्य रहेको जनाउँदै उनले इच्छुक लगानीकर्तालाई फोरममा आवद्ध हुन समेत आग्रह गरेका छन् ।
‘हाम्रो फोरममा धेरै सदस्य हुनुहुन्न, अहिले जम्मा ७५ जना मात्रै आजिवन सदस्य हुनुहुन्छ, त्यसैले लगानीकर्तालाई फोरमको सदस्य लिई बजारको हकहितको लागि सँगै हातेमालो गर्दै अघि बढ्न यहि मिडियामार्फत आग्रह गर्दछु,’ ढकाल बताउँछन् ।