काठमाडौं । बुधबारको सेयर कारोबारमा गिरावट आएको छ । एकैदिनको बजारमा करिब ४ अर्ब रुपैयाँले सेयर कारोबार घटेको हो ।
बुधबारको बजारमा कूल ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब ९० करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा कूल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कूल २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ । यससँगै बजारको पुँजीकरण ४१ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ ।
बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । जसको एकैदिन ५९ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सो दिन कारोबार घटेपनि नेप्से परिसूचमा भने केही सुधार देखिएको छ । दिनभर उतारचढाव देखिएको परिसूचक अन्तत १.१८ अंकले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतले बढी हो ।
बुधबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४४८ रुपैयाँ पुगेको छ । त्यस्तै, ५ प्रतिशत बढी सेयर मूल्य बढ्नेमा अन्य ४ कम्पनी रहेका छन् । ओरियन्टल होटलको ६.१४, यूनाईटेड मोदी हाइड्रोपावरको ६.०४, हिमालय उर्जा विकास कम्पनीको ६.०२ र सोल्टी होटलको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ ।
सो दिन सबैभन्दा बढी सनराइज फर्ष्ट म्युचुअल फण्डको मूल्य घटेको छ । जसको इकाई मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिइकाई ११.८२ रुपैयाँमा झरेको छ ।
सो दिन बैंकिङ्ग, होटल्स, इन्भेष्टमेन्ट, जीवन बीमा र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।