काठमाडौं, २८ असार । सरकार परिवर्तनको हल्लासँगै पुँजीबजारमा गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ९ दशमलब २० अंकले घटेर १६९३ अंकमा पुगेको छ । परिसूचक दिउँसो पौने दुई बजेसम्म घटेर ४८ अंकमा पुगेको बजारमा बन्द हुँदा भने केही सुधार देखिएको हो । सो दिन १३८ कम्पनीको १६ लाख ३८ हजार कित्ता सेयर एक अर्ब १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
बजारमा उत्पादनमूलक समूह र अन्य समूहको परिसूचक बाहेक बाकी सबै समूहको परिसूचक ओेरालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले ओरालो लागेको छ । हाइड्रोपावर, विकास बैंक, फाइनान्स र होटल समूहका परिसूचक क्रमशः ३४, २७, १४ र ११ अंकले घटेको छ भने बैंकिङ समूह ६ अंकले घटेको छ । उत्पादनमूलक समूह र अन्य समूह क्रमशः ३० र १९ अंकले बढेको छ ।
मङगलबार मिथिला लघुवित्त विकास बैंकका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी लि प्रमोटर सेयर र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
जनता बैंक नेपालको ९ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । एभरेष्ट बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण् विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।