आजको बजार अस्थिर हुन सक्ने, धेरै नघट्ने लगानीकर्ताको आश

<p>काठमाडौं । यो साताको दुई असाध्यै अस्थिर देखिएको सेयर बजार आज पनि अस्थिर नै हुन सक्ने आकलन गरिएको छ । केही लगानीकर्ता बजार बढ्नेमा आशाबादी देखिएका छन् भने केही लगानीकर्ता बढेको बजारमा सेयर बेचेर निस्कने दाउमा छन् । आजको बजार पनि अस्थिर नै हुन सक्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बताउँछन् । ‘आइतबार बजार [&hellip;]</p>

काठमाडौं । यो साताको दुई असाध्यै अस्थिर देखिएको सेयर बजार आज पनि अस्थिर नै हुन सक्ने आकलन गरिएको छ । केही लगानीकर्ता बजार बढ्नेमा आशाबादी देखिएका छन् भने केही लगानीकर्ता बढेको बजारमा सेयर बेचेर निस्कने दाउमा छन् ।

आजको बजार पनि अस्थिर नै हुन सक्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बताउँछन् ।

‘आइतबार बजार घटेर नेगेटिभ सर्किट ब्रेक लगाउनु पर्यो भने सोमबार बजार १६२ अंकले बढ्यो, केही लगानीकर्ता अब बजार बढ्छ भन्ने आशामा देखिन्छन् भने केही लगानीकर्ता अब बजार धेरै नबढ्ने भएकोले सेयर बेच्ने मौका पर्खिरहे जस्तो देखिन्छ, त्यसैले निस्कन खोज्नेले बेच्ने र बढ्छ भन्ने आश गर्नेहरुले किन्ने द्वन्द देखिन्छ जस्तो छ,’ उपाध्यक्ष लम्सालले विकासन्युजसँग भने ।

स्थीर हुन खोज्दै बजार

लगानीकर्ताहरु बजार स्थीर हुन खोजिरहेको बताउँछन् । नेगेटिभ सर्किट लागेको भोलिपल्ट नै अघिल्लो दिनको भन्दा बढी अंकले बजार बढेका कारण अझै केही दिन अस्थीरता देखिन सक्ने लगानीकर्ताको अनुमान छ ।

‘बजार घट्छ भन्ने त्रासको कारण उत्पन्न भएको प्यानिक सेल सकियो, बेचेर निस्कन खोज्नेहरुले बेचिसकेका छन्, अर्थमन्त्रीको निर्देशनको कारण मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमामा पनि परिवर्तन हुन्छ भन्ने विश्लेषण एकथरि लगानीकर्ताको छ, यो संख्या ठूलो पनि छ,’ उपाध्यक्ष लम्सालले भने ।

अर्काथरि लगानीकर्ता भने नयाँ कुनै नीतिगत सु्विधा नआउने र अहिले भएको व्यवस्थामै एड्जस्ट गर्नुपर्ने भएकोले बजार धेरै बढ्दैन भन्ने विश्लेषणमा रहेको लम्सालले सुनाए । यी दुबै तर्कलाई आधार मान्दा बजार स्थीर हुन खोजिरहेको देखिन्छ ।

तर, प्राविधिक विश्लेषण गर्ने केही विश्लेषकहरुले भने बजार अब बढ्दा ४८ सयदेखि ६५ सय विन्दुको बीचमा नेप्से परिसुचक पुग्ने विश्लेषण सुनाइरहेका छन् । केही विश्लेषकहरुले भने अहिलेको विन्दुबाट बजार घटेर २४ सयदेखि २५ सय विन्दुको बीचमा नेप्से परिसुचक रहने दाबी पनि गरिरहेका छन् ।

कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारणसभा गरेर लाभांश वितरण गर्ने समय नजिकिएको छ । पुस मसान्तसम्ममा कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । सोही कारण बजार पुस अघि नट्ने अनुमान पनि गरिएको छ । तर, अबका दिनमा बजारले कस्तो गति लिन्छ भनेर स्पष्ट दृश्य देखिनको लागि अझै केही दिन पर्खन जरुरी देखिएको लगानीकर्ताहरुको विश्लेषण छ ।

Share News