को हुन् पोलिसी एक्सेस पाउने यी ‘बाहुबली’ सेयर लगानीकर्ता ?

<p>काठमाडौं । गत आइतबार सेयर बजार खुलेको २ घण्टा पुगेकै समयमा पुँजी बजार मापक नेप्से परिसुचक ५ प्रतिशतले घट्यो । कारोबार खुलेको २ घण्टा पुग्नु र परिसुचक ५ प्रतिशतले घट्नु केही सेकेन्डको फरक मात्रै थियो । सो दिन ठ्याक्कै १ बजे नेप्से परिसुचक ५.०३ प्रतिशत (१४७ अंक) ले घटेपछि ४० मिनेटको लागि नेगेटिभ सर्किट ब्रेकर [&hellip;]</p>

काठमाडौं । गत आइतबार सेयर बजार खुलेको २ घण्टा पुगेकै समयमा पुँजी बजार मापक नेप्से परिसुचक ५ प्रतिशतले घट्यो । कारोबार खुलेको २ घण्टा पुग्नु र परिसुचक ५ प्रतिशतले घट्नु केही सेकेन्डको फरक मात्रै थियो ।

सो दिन ठ्याक्कै १ बजे नेप्से परिसुचक ५.०३ प्रतिशत (१४७ अंक) ले घटेपछि ४० मिनेटको लागि नेगेटिभ सर्किट ब्रेकर लगाएर बजार बन्द गरियो । त्यसपछि खुलेको बजार पनि खासै संहालिएन । दिनभरमा नेप्से परिसुचक १०८ अंकले घट्यो ।

तर, सोमबारको लागि ‘लगानीकर्ता’को एक समुह बेग्लै तयारीमा थियो । सोमबार ‘देशभरबाट ४० लाख लगानीकर्ता पुतली सडकको शंकरदेव क्याम्पस नजिकै भेला भएर नेपाल राष्ट्र बैंक घेराऊ गर्न जाने’ कार्यक्रम पहिला नै तय भइसकेको थियो । र, सो घेराऊको नेतृत्व गरेका थिए– लगानीकर्ता दिपेन्द्र अग्रवालले ।

सोमबारको सो कार्यक्रमका लागि अग्रवाल र उनको एक समुहले पहिलादेखि नै राम्रै तयारी गरिरहेका थिए । गत शनिबार सामाजिक संजाल क्लब हाउसमा अग्रवालले भनेका थिए– ४० लाख लगानीकर्ताको लागि दिपेन्द्र अग्रवाल ज्यान दिन तयार छ ।

शनिबार क्लबहाउसको सो छलफलमा एक सहभागीले प्रश्न सोधेका थिए– आइतबारदेखि बजार खुल्छ, आइतबार पनि बजार घट्छ, हाम्रो सम्पत्ती गुम्छ, त्यसैले किन सोमबारसम्म पर्खनु पर्यो ? आइतबार नै हामी प्रदर्शनमा उत्रनु पर्छ ।

जवाफमा अग्रवालले भनेका थिए– यहाँ हामी २/४ जना लगानीकर्ताको सवाल छैन, ४० लाख लगानीकर्ताको सम्पत्तिको सुरक्षा गर्ने कुरा छ, देशभरबाट साथीहरु काठमाडौं आउँदै हुनुहुन्छ, त्यसको लागि हामीले समय पनि दिनुपर्छ ।

नभन्दै आइतबार नेगेटिभ सर्किट लगाउनु पर्ने गरी बजार घट्यो ।

सोमबार विहान ११ बजे अग्रवालको समुहले शंकरदेव क्याम्पसअघि भेला भएर मोटरसाइकल र्यालीसहित गएर राष्ट्र बैंक घेराउ गर्यो । शनिबार क्लबहाउसमा अग्रवालले घोषणा गरेका थिए– राष्ट्र बैंकले ल्याएको ४ करोड र १२ करोड कर्जा सीमा हटाउनु पर्ने बुँदा हाम्रो मागबाट हट्छ अब र, दीपेन्द्र अग्रवाल पनि सो प्रदर्शनमा सहभागी हुँदैन । किनकी यी दुई विषयमा धेरै चर्चा भयो, बजार विरोधीहरुले यी दुई विषयलाई धेरै उछाले । दिपेन्द्र अग्रवालले बैंकबाट १ रुपैयाँ ऋण लिएर सेयर किनेको अहिले कसैले देखाउँछ भने म एक करोड रुपैयाँ पुरस्कार दिन तयार छु । मैले यो काम मेरा लागि गरिरहेको छैन । त्यसैले ४ करोड र १२ करोड कर्जा सीमाको विषय हाम्रो मागबाट हटाउँदा र दिपेन्द्र अग्रवाल त्यहाँ सहभागी नहुँदा नै ४० लाख लगानीकर्ताको हित हुन्छ ।

तर, सोमबारको प्रदशर्नमा अग्रवाल देखिए ।

आइतबार नेगेटिभ सर्किट लागेको बजार सोमबार करिब १६२ अंकले बढेर बन्द भयो । आइतबार बजार घटेपछि र लगानीकर्ताको नाममा आन्दोलन नै हुन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहानै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी बजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए भन्ने समाचार सार्वजनिक भए ।

अर्थमन्त्री शर्माको सचिवालयले नै बजारमा देखिएका समस्या सम्बोधन गरिदिन गभर्नर अधिकारीलाई टेलिफोनमा भनेको भनेर प्रेस विज्ञप्ति जारी गर्यो । सोमबार अर्थमन्त्री शर्माले सेयर बजारमा हस्तक्षेप गरेको उनकै सचिवालयको विज्ञप्तिले प्रष्ट्यायो ।

यो उदाहरण यही साताको मात्रै हो । यसभन्दा अघि पनि लगानीकर्ताका नाममा संघ संस्था बनाइएको हवाला दिदसेयर बजारमा वाहुवल प्रदर्शन हुने गरेको छ । २०७३ सालमा अर्थमन्त्रीमा नियुक्त हुने वित्तिकै डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भने र उनको सोही अभिव्यक्तिको कारण बजार घट्यो भन्दै ‘समग्र लगानीकर्ताको हिताका लागि’ केही युवा नेप्से गेटमा अनसन नै बसेका थिए । सो अनसनको नेतृत्व हरि ढकाल र तिलक कोइरालाले गरेका थिए । कोइराला पत्रकारितामा आवद्ध थिए भने ढकाल तत्कालिन सत्तारुढ दल नेकपा एमाले निकट युवा कार्यकर्ता ।

सो आन्दोलन र अनसनले बजार बढायो । र, ढकालले स्थापना गरे– सेयर लगानीकर्ता दबाब समुह । ढकालको सेयर लगानीकर्ता दबाब समुहले कानुनी हैसियत प्राप्त गर्न सकेको पुष्टि भने भएको छैन । तर, ढकाल नेतृत्वको सेयर लगानीकर्ता दबाब समुह पनि बेलाबेलामा पोलिसी एक्सेस पाउने संस्था बनिसकेको छ । सेयर बजारसँग सम्बन्धित कुनै नीतिगत विषयमा ढकालले सोही दबाब समुहको नाममा विज्ञप्ति जारी गर्ने गरेका छन् ।

ढकालको दबाब समुह स्थापना हुनुभन्दा पहिला नै राधा पोखरेल अध्यक्ष रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघ स्थापना भइसकेको थियो । सो संघ कम्पनी रजिष्टार कार्यालयमा गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएको छ ।

पोखरेलको संस्थाले पूर्वअर्थमन्त्री डा. खतिवडालाई पटक पटक भेट गरी ‘लगानीकर्ताका माग’ बुझाइकाे थियाे । तत्कालिन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सम्बन्ध बिग्रदै गएपछि पोखरेललाई अर्थमन्त्री डा. खतिवडाले कम महत्व दिन थालेका थिइन् । पोलिसी एक्सेस पाउने पोखरेल नेतृत्वको संस्था कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको संस्था हो ।

यस्तै, संरक्षणा चौधरी अध्यक्ष रहेको नेपाल पुँजी बजार संघ पनि पोलिसी एक्सेस पाउने अर्काे संस्था हो । यो संस्थाले पनि अहिलेसम्म कानुनी हैसियत प्राप्त गर्न सकेको पुष्टी भएको छैन । तर, पुँजी बजारसँग सम्बन्धित नीतिगत विषयहरुमा चौधरीले नेपाल पुँजी बजार संघको नाममा विज्ञप्ति जारी गर्ने गरेकी छन् भने उनको संस्थाले पनि पोलिसी एक्सेस पाउने गरेको छ ।

सरकारी नीति नियम बनाउँदा पोलिसी एक्सेस पाउने अर्काे संस्था हो– सेयर लगानीकर्ता संघ । यो संघको नेतृत्व उत्तम अर्यालले गरिरहेका छन् । यो संघ २०७३ सालमा संघ संस्था दर्ता ऐन अनुसार दर्ता भएको संघका उपाध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

सेयर लगानीकर्ता संघमा सदस्य हुनको लागि शुल्क नलाग्ने उपाध्यक्ष फुलेलले बताए । संस्थामा अहिले कति सदस्य छन् भन्ने बारेमा उनले केही खुलाएनन् ।

सेयर लगानीकर्ताको नाममा खुलेको सबैभन्दा पुरानो संस्था भने नेपाल इन्भेष्टर फोरम हो । यो संस्था खुलेको १३ वर्ष पूरा भएको उपाध्यक्ष राजन लम्सालले बताए । संस्थाले सदस्य बन्नको लागि शुल्क तोकेको छ । उपाध्यक्ष लम्सालका अनुसार २ वर्षको लागि सदस्य बन्न २ हजार रुपैयाँ ३ वर्षका लागि ३ हजार रुपैयाँ र ५ वर्षका लागि सदस्यता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । आजिवन सदस्य बन्नका लागि भने २५ हजार रुपैयाँ एकमुष्ठ बुझाउनु पर्ने उपाध्यक्ष लम्सालले जानकारी दिए ।

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष अहिले तुलसीराम ढकाल छन् । फोरमका साधारण सदस्य ३ सयभन्दा बढी रहेको र ८० जना आजिवन सदस्य रहेका उपाध्यक्ष लम्सालको भनाई छ ।

पोलिसी एक्सेस दिनु ठीक हो ?

अहिलेसम्म नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता दबाब समुह गरी सेयर लगानीकर्ताकै नाममा ५ वटा संस्थाले पोलिसी एक्सेस पाउने गरेको देखिएको छ । गत सोमबार राष्ट्र बैंकविरुद्ध लगानीकर्ता सकडमा उतारेका दिपेन्द्र अग्रवालले अर्काे नयाँ संस्था खोल्ने सम्भावना अधिक देखिन्छ । किनभने पछिल्ला दिनहरुमा उनी क्लबहाउसमा यस्ता सबै संघ संस्थाहरुको आलोचना गरिरहेका भेटिन्छन् ।

अग्रवालले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईसँग खिचेको तस्वीर राखेका छन् । उनी राजपाबाट २०७४ सालमा समानुपातिक तर्फको उम्मेदवार नै बनेका थिए । त्यसैले उनले आफ्नो फेसबुक पेजमा राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायत मन्त्री बनेको समयमा आफूसँग खिचिएको फोटो समेत राखेर आफ्नो राजनीतिक पहुँच पनि प्रदर्शन गरेका छन् ।

सेयर बजारबारे विज्ञ भने लगानीकर्ताका नाममा खुलेका यस्ता संस्थाहरुलाई पोलिसी एक्सेस दिने बारेमा धेरै नै सोच विचार गर्नुपर्ने बताउँछन् ।

‘सबै संघ संस्थाहरुले ४० लाख लगानीकर्ताको हवाला दिन्छन्, उनीहरुले चाहेका बेलामा अर्थमन्त्री, धितोपत्र बोर्डका अध्यक्ष जस्ता उच्च सरकारी अधिकारीलाई भेटेर नीतिगत विषयमा हस्तक्षेप गर्ने गराउने गरेका छन्, सरकारी अधिकारीहरुले पनि कसलाई भेट्ने र कसलाई नभेट्ने भन्ने विषयमा स्पष्ट हुन सक्नुपर्छ,’ एक लगानीकर्ताले भने ।

तर, विगतका मात्रै होइन, वर्तमान अर्थमन्त्री शर्मा पनि लगानीकर्ताका नाममा खुलेका संघ संस्थाका प्रतिनिधिहरुलाई रेड कार्पेट ओछ्याएर अर्थमन्त्रालयमा स्वागत गरिरहेका छन् ।

सम्बन्धित समाचार

टिप्पणी: सेयरबाट अर्बौं कमाउने खेलमा पटक-पटक नीतिगत परिवर्तन

गर्भनरलाई अर्थमन्त्रीले फोन गरेपछि सेयर बजारमा १६२ अंकको वृद्धि

Share News