काठमाडौं । अपि पावर कम्पनीको प्रस्तावित बोनस र हकप्रद सेयर दुबै पारित भएको छ । भदौ २५ गते सम्पन्न कम्पनीको १८ औं वार्षिक साधारणसभाले कम्पनीको प्रस्तावित बोनस र हकप्रद सेयर पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १०.५ प्रतिशत बोनस सेयर र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले यसै आर्थिक वर्षबाट ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । कम्पनीका अनुसार आगामी वर्षदेखि सो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पुँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ ।
त्यस्तै, कम्पनीले यहि आर्थिक वर्षमा कम्पनी चन्द्रनिगाहपूरमा ४ मेगावाट क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै, ढल्केबरमा १ मेगावाट क्षमता र सिमरामा १ मेगावाट क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।
यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनी ६२.५ मेगावाटको कम्पनी हुनेछ ।
साथै, कम्पनीले आगामी वर्षदेखि कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि हुने र सेयरधनीलाई दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत सभामा जानकारी गराएको छ ।