काठमाडौं । आज सेयर बजार मापक नेप्से परिसुचक ४.०५ प्रतिशतले घटेर २६९८.२५ विन्दुमा आइपुग्यो । दिनभरमा ११४.०२ अंकले घटेको बजारले केही निश्चित संकेतहरु दिएको छ ।
आजको बजारले दिएको खास संकेत भनेको नेपाल स्टक एक्सचेन्जमा दैनिक कारोबार हुन सक्ने सेयरहरुको मापक फ्लोट इन्डेक्स पनि ४.०४ प्रतिशतले घट्यो भने १ करोड ७३ लाख ३० हजारभन्दा बढी संख्याका सेयर खरिद विक्री भए । फ्लोट इन्डेक्स ४ प्रतिशतले घट्नु र १ करोड ७३ लाख ३० हजारभन्दा बढी संख्यामा सेयर खरिद विक्री हुनुले बजारमा विक्री चाप सहजै अनुमान गर्न सकिन्छ ।
करिब ११ सय विन्दुको वरिपरीबाट बढ्न थालेको यो सिजनको बुल बजार ३१९८ विन्दुमा पुगेर फर्किएको छ । आजको दिनको मात्रै बजारलाई हेर्ने भने पनि परिसुचक २८ सय विन्दुको वरिपरीबाट एकै पटक २६९८ विन्दुमा झरेको छ । यो बीचमा नेप्से परिसुचक ३१९८ उच्चतम विन्दुबाट २६९८ विन्दुमा आइपुग्दा १५.६३ प्रतिशतले घटिसकेको छ ।
बजार बढेकै समयमा पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका उच्च अधिकारीहरु सेयर खरिद विक्रीको विवादमा तानिए । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर आफन्तको नाममा खरिद गरेको आरोप लाग्यो । यही आरोपका कारण नेप्सेका सिईओ साउदले राजीनामा दिइसकेका छन् भने बोर्ड अध्यक्ष ढुंगानालाई सरकारले पदबाट हटाएर छानविन समिति बनाएको छ । यद्यपि, बोर्ड अध्यक्ष ढुंगाना भने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालत गएका छन् ।
नियामक निकायका उच्च अधिकारीहरुमाथि गलत तरिकाले सेयर खरिद विक्री गरेको आरोप लागेपछि बजारमा संकास्पद गतिविधि भएको हुने रहेछ भनेर ‘जेन्युइन’ लगानीकर्ता ‘साइड’ लाग्न खोजेको पनि हुन सक्छ ।
अर्काे, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितोमा पाइने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एउटा बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र सबै बैंक वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था गर्यो । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था पनि सेयर बजारका लागि प्रतिकुल रहेको लगानीकर्ताहरु बताइरहेका छन् ।
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पनि बजारको अहिलेको बृद्धिमा केही ‘करेक्सन’ आउनु अनिवार्य रहेको अनौपचारिक कुराकानीमा बताइरहेका थिए । यस्तै, अर्थमन्त्रीले राजनीतिक प्रयोजनका लागि बजार बढ्नु राम्रो कुरा भएको बताए पनि अर्थमन्त्रालयका अन्य अधिकारीहरु भने अब बजार धेरै माथि पुगेकोले केही ‘करेक्सन’ होस भन्ने चाहन्थे ।
नीति र नीति निर्माताहरु अब बजार धेरै माथि जानु हुदैन भन्ने मान्यतामा पुगिसकेको बेलामा लगानीकर्ताकै नाममा केही व्यक्तिहरु नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री चिढ्याउने हर्कतमा सामेल भए । बजार बढाउन सहयोगी भूमिका निर्वाह नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको व्यवस्था ल्याएर बजारमा नकारात्मक असर पारेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनु पर्ने माग गर्दै एकथरी ‘लगानीकर्ता’ आन्दोलनमा सहभागी भए । यस्ता हर्कतले पनि बजारमा द्वन्द र अविश्वासको अवस्था सिर्जना गर्यो ।
यही समयमा संसदबाट चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेर सरकार आफै बेखर्ची बन्यो । सरकारले खर्च गर्न नपाउने अवस्था सिर्जना भएका कारण बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव अझ चर्कियो । तरलता अभाव भएकै कारण बैंक तथा वित्तीय संस्थाहरु व्याज बढाउन वाध्य भए । अहिले केही वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज दिने सुचना नै प्रकाशित गरिसकेका छन् ।
सेयर बजार बढ्नको लागि नीतिगत, नीति निर्माता र बजार परिस्थिति अनुकल नभएको अहिलेको अवस्थामा बजारमा फेरि रौनक देखिएर तत्काल बजार बढ्ने सम्भावना कम देखिएको छ । तत्काल बजार धेरै नघटे पनि बढिहाल्ने सम्भावना कम देखिएको बजार विश्लेषक मुक्ति अर्याल बताउँछन् ।
‘गत सातासम्म बजार फेरि बढ्न सक्छ कि भनेर मैले पनि लगानीकर्तालाई हतोत्साही नहुनु भन्ने गरेको थिएँ तर, आजको बजारमा फरक परिदृश्य देखियो, बजार थप कमजोर देखियो, त्यसैले अब सचेत रहनुस् भन्ने मेरो सुझाव छ,’ अर्यालले भने ।
उनले ३१९८ को विन्दुबाट बजार थप बढ्न सक्ने सम्भावना बाँकी नै भए पनि अब तत्काल बढ्ने सम्भावना कम देखेका छन् ।
‘११ सयको विन्दुबाट बढ्न थालेको बजार ४ हजारभन्दा माथि पुगेको थियो भने धेरै बढ्यो भन्न सकिन्थ्यो होला तर, ३२ सय विन्दुमा नपुग्दै तल झर्न थाल्यो, आजको परिसुचकलाई हेर्ने हो भने बजार ३१९८ विन्दुबाट १५ प्रतिशतले तल झरिसक्यो, अब थप ५ प्रतिशतले घटेर समग्रमा २० प्रतिशतले बजार घट्यो भने वियरिस ट्रेण्ड सुरु भएको अर्थमा बुझ्दा हुन्छ,’ अर्यालले भने ।
अहिले बजार घट्नुमा नीतिगत कारण र नियामक निकायहरुबाट आएको प्रतिक्रिया नै मुख्य कारण भएको उनको विश्लेषण छ ।
‘अहिले व्याजदर १ प्रतिशत जतिले बढेको छ, १ प्रतिशतले व्याजदर बढ्दा बजारमा ५० देखि १०० अंकको करेक्सन देखिनु सामान्य कुरा हो तर, अहिले बजार त्योभन्दा पनि धेरै घटिसकेको छ, यो भनेको नीतिगत कारण र नीति निर्माताले दिएको प्रतिकुल अभिव्यक्ति नै मुख्य कारक हो भन्ने मेरो विश्लेषण छ,’ अर्यालले भने ।
अहिले दोस्रो बजारमा प्रतिकित्ता १५ सय रुपैयाँमा पाइने कम्पनीले ३० प्रतिशतको हाराहारीमा प्रतिफल दिने देखिन्छ । यता बैंकहरु भने निक्षेपमा १० प्रतिशत व्याज दिने भनिरहेका छन् । यस्तो परिस्थितिमा १५ सय रुपैयाँ हालेर ३० रुपैयाँ प्रतिफल लिने कि त्यही १५ सय रुपैयाँ बैंकमा राखेर १५० रुपैयाँ व्याज खाने भन्ने छनोट लगानीकर्ताले गरेका पनि हुन सक्छन् ।
नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको बाहुल्यता बढी छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष लगानीकर्तालाई औसतमा १२ प्रतिशत डिभिडेन्ड दिन सक्ने देखिन्छ । कोभिड महामारीको सन्त्रास कम हुँदै गएको, बजार, उद्योग व्यवसाय खुल्ला भइसकेको, शहरी क्षेत्रका धेरै नेपालीले कोभिड विरुद्धको खोप लगाइसकेको जस्ता कारणले सेयर बजारबाट लगानी झिकेर आफ्नै मुल पेशमा लगानी बढाउने क्रम बढेका कारण बजार घटेको हो भने बजारमा अब धेरै उछाल आउन सक्ने सम्भावना कम हुन्छ ।
यद्यपि, अर्याल भने लगानीकर्ताले आजको प्रतिफल भन्दा पनि आगामी दिनमा कम्पनी कस्तो हुन सक्छ भन्ने विश्लेषणका आधारमा बजारको दिशा तय हुने बताउँछन् ।
‘आज १५ प्रतिशत दिने कम्पनी अर्काे वर्ष २० प्रतिशत दिन सक्ने बन्न सक्छ, कम्पनीको प्रगति लगानीकर्ताको विश्लेषणमा राम्रो हुन्छ कि हुन्न भन्ने कुराले सेयर बजारमा लगानी गर्ने कि नगर्ने भन्ने तय गर्छ, त्यसैले सुचिकृत कम्पनीहरुले यो वर्ष कम डिभिडेण्ड दिने भए भनेर लगानीकर्ता भागेका त होइन होला, मैले पहिला भने जस्तै नीतिगत कारण र नीति निर्माताको अभिव्यक्तिले घट्दो बजारमा थप निरासा उत्पन्न भएको हुन सक्छ,’ अर्यालले भने ।