काठमाडौं, ३० असार । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक २७ दशमलब ७२ अंकले बढेर १७१८ दशमलब १५ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २५ लाख ४० हजार कित्ता सेयर करिब एक अर्ब ४६ करोड ७८ लाख रुपैयाँको किनबेच भएको छ ।
बिहीबार सेयर बजारमा सबै समूहमा हरियो रङ देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ६३ अंकले उकालो लागेको छ । बीमा, अन्य समूह, उत्पादनमूलक लगायत विकास बैंक र बैंकिङ् समूकहको परिसूचक क्रमशः ३७, ३२, ३०, २८ र २६ अंकले बढेको छ । त्यस्तै, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १० र ८ अंकले वृद्धि भएको छ ।
सो दिन ६ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पुर्णिमा विकास बैंक, ओरिएन्टल होटल लि. र सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी, माछापुच्छ्रे बैंक र नेरुडे लघुवित्तका सेयरधनीले हाराहारी १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनी लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
बजारमा सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको करिब १६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।