काठमाडौं, ३० असार । सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त (एक्विजिसन) गरि असार ३० गते बिहीबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् ।
कार्यक्रममा नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरेका छन् । नारायणी नेशनल फाइनान्सका १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
उक्त अवसरमा गभर्नर डा. नेपालले यस एकीकरणबाट सनराइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा जोड दिएका छन् । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुने बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले नारायणी नेशनललाई एकीकरण गरि मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न सक्ने बताएका छन् । साथै उनले सन्राइज बैंकको चुक्ता पूँजी करिब ४ अर्व रुपैयाँ पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले एक्विजिसनमा पनि मर्जर बराबरकै सुविधा प्रदान गर्नु पर्नेमा जोड दिएका छन् ।
त्यसैगरि फाइनान्सका अध्यक्ष मानन्धरले सनराइज बैंक जस्तो “क” वर्गको संस्थासंग समाहित भइ ठूलाठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी करिव ४ अर्व रुपैयाँ, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप ५० अर्व, तथा कूल कर्जा ४३ अर्व रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।