सेयर बजारमा १०४ अंकको वृद्धि, सबैको मूल्य बढ्दा २० कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । बुधबारको सेयर बजार १०४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्ततः १०४।८८ अंकले बढेर २८१६।९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३।८७ प्रतिशतले बढी हो । परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार ७ अर्ब ३६ करोडको सेयर कारोबार [&hellip;]</p>


काठमाडौं । बुधबारको सेयर बजार १०४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्ततः १०४।८८ अंकले बढेर २८१६।९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३।८७ प्रतिशतले बढी हो ।

परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार ७ अर्ब ३६ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ६ अर्ब १७ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।

बजारमा १८५ कम्पनीसहित २१७ वटा स्क्रिप्टको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन २३ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६४२ रुपैयाँ रहेको छ ।

बुधबार कारोबारमा आएका १८५ कम्पनीमध्ये १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य स्थिर रहेको छ । मूल्य स्थिर रहनेमा ङादी ग्रुप पावर रहेको छ । मंगलबार प्रतिकित्ता ७२६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बुधबार पनि सोही रहेको छ ।

त्यसैगरी सेयर मूल्य बढ्ने कम्पनीमध्ये पनि २० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा पनि अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् । तर सेयर मूल्य गुमाउने भने कोही पनि छैनन् ।

बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह ५५१ अंकले उकालो लागेको छ ।

Share News