काठमाडौं । बिहीबारको बजार झिनो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको बजार अन्ततः २.७० अंकले बढेर २८१९.६६ बिन्दुमा पुगेको छ ।
सो दिन कारोबार खुल्नासाथ उच्च अंकले बढेर अधिकतम २८८२ बिन्दुमा पुगेको परिसूचक घटेर न्यूनतम २८०४ बिन्दुसम्म झरेको थियो । तर बजार बन्द हुँदा भने परिसूचक सामान्य अर्थात अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशतले बढेको छ ।
झिनो अंकको सुधार देखिएको बजारमा कारोबार रकममा पनि सुधार भएको छ । दिनभरको कारोबारमा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो दुई दिन अर्थात मंगलबार र बुधबारको तुलनामा बढी हो ।
दिनभरको बजारमा १८६ कम्पनीसहित २२८ वटा स्क्रिप्टको कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी वाणिज्य बैंकको सेयर कारोबार भएको छ । सो दिन बढी कारोबार गर्नेको अग्रस्थानमा वाणिज्य बैंक नै रहेका छन् । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः नेपाल र माछापुच्छ्रे बैंक रहेका छन् । यी दुईको क्रमशः २७ करोड १० लाख र २३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सानिमा र माछापुच्छ्रेले गत वर्षको लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । यी दुईले क्रमशः १७ प्रतिशत र १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । बिहीबारको बजारमा यी दुई बैंकको सेयर क्रमशः प्रतिकित्ता ५२८ र ४११ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, कारोबारमा आएका १८६ कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
सेयर मूल्य बढ्नेको अग्रस्थानमा मनकामना स्मार्ट लघुवित्त रहेका छन् । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ११९.७० रुपैयाँले बढी हो । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.१३ र नेपाल बैंकको सेयर मूल्य ५.५१ रुपैयाँले बढेको छ ।
बिहीबार हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.०९ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ ।
बजारमा बैंकिङ्ग र फाइनान्स समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग र फाइनान्स समूह क्रमशः ४७ र ८ अंकले बढेको छ ।