काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले हालसम्म सूचीकृत भएका सबै कम्पनीलाई असोज मसान्तभित्रै नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
यससँगै सूचीकृत कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वष २०७८/७९ को वार्षिक नवीकरण शुल्क आगामी असोज मसान्तसम्मा बुझाइसक्नु पर्ने छ ।
यदि तोकिएको समयमा नबुझाएमा नवीकरण शुल्कको १० प्रतिशतका दरले जरिवाना लाग्ने छ । यसका साथै, सूचीकरण समेत स्थगन गरिने नेप्सेले जानकारी गराएको छ ।
कसले कति तिर्नुपर्छ ?
नेप्सेका अुनसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी रहेका सूचीकृत कम्पनीले वार्षिक ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने छ । त्यस्तै, ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी रहेका कम्पनीले एक लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसैगरी, ५० करोड रुपैयाँसम्मको चुक्ता पुँजी रहेका डिबेन्चर तथा म्युचुअल फण्ड (सामुहिक लगानी कोष) ले वार्षिक २५ हजार र सोभन्दा माथिकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने छ ।
कसरी बुझाउने शुल्क ?
सूचीकृत कम्पनीले चालु आवको नवीकरण शुल्क नेप्सेको खाता रहेको ग्लोबल आईएमई बैंकमा जम्मा गर्न सक्ने छन् । जसको खाता नम्बर ७५०१०१००००७७५ र खाताको नाम नेप्से अपरेटिङ्ग अकाउन्ट रहेको छ । र, उनीहरुले खाताको रकम जम्मा गरेको बैंक भौचर कम्पनीले [email protected] मा पठाउनु पर्ने छ ।