काठमाडौं । आइतबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । कारोबार खुलेदेखि ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक अन्ततः ६१.२७ बिन्दुले घटेर २७५८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१७ प्रतिशतले घटी हो ।
बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबिार करिब पौने ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज आइतबार भने ६ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । आइतबारको बजारमा २३३ वटा स्क्रिप्टको कूल १ करोड ४४ लाख कित्ता बढी धितोपत्र खरिद बिक्री भएको हो ।
कारोबारमा आएका मध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागिरहेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४४८.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १३१.७० रुपैयाँले बढी हो । त्यस्तै, मैलुङ्ग खोला जल विद्युत कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले बढेर प्रतिकित्ता २०५.७० रुपैयाँ पुगेको छ ।
बजारमा सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर मूल्य ८.९८ प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य ७५ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँमा झरेको छ । आइतबारको बजारमा अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये सबैभन्दा बढी घलेम्दी हाइड्रोको सेयर मूल्य ७.९६ प्रतिशतले घटेर प्रतिकित्ता ३९३ रुपैयाँमा झरेको छ ।
आइतबार विभिन्न १३ वटा समूहको कारोबार भएको थियो । जसमध्ये म्युचुअल फण्ड ०.०३ अंकले उकालो लागेको छ भने बाँकी सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएकामध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३७१.३१ अंकले घटेको छ ।