काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा आफ्नो १० औं वार्षिक साधारणसभा बोलाएको हो ।
कोभिड १९ संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले उक्त सभा जुम मार्फत पनि सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।
सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।
साथै, सभाले सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
उक्त सभामा जाने प्रयोजनको लागि सभाले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असोज १७ गतेसम्म कायम सेयरधनी साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।