वाणिज्य सचिवको प्रश्नः वार्षिक मागभन्दा बढी चिनी आयात हुँदा पनि कसरी फैलियो अभावको हल्ला ?

<p>काठमाडौं । सरकारले चाडपर्वमा खाद्य पदार्थको अभाव नहुने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने बताए । ‘हामीलाई दिईएको तथ्यांक अनुसार पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात छ, कोही कसैले खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नका लागि अभाव [&hellip;]</p>

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य पदार्थको अभाव नहुने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने बताए ।

‘हामीलाई दिईएको तथ्यांक अनुसार पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात छ, कोही कसैले खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नका लागि अभाव छ भन्ने गरेका छन्, हल्लाको पछि नलाग्नुस्, पर्याप्त मात्रामा खाद्य पदार्थको मौज्दात छ’, उनले भने ।

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशनले आफूसँग रहेको चिनीको मौज्दात सकिन लागेकाले बजारमा अभाव हुने भनिरहदाँ सचिव भटराईले पर्याप्त रहेको जनाएका हुन ।

उनले भन्सार विभागको तथ्यांक अनुसार भारत लगायत अन्य देशबाट पर्याप्त मात्रामा चिनीको आयात भइरहेको भन्दै निजी व्यापारीसँग मौज्दात रहेको जनाएका हुन ।

‘सरकारसँग आधार, तथ्य र तथ्यांक छ, चाडपर्वमा मात्रै नभई अन्य समयमा पनि अभाव हुन दिँदैनौं, बाहिरको हल्ला जस्तो अभाव छैन, हामी निरन्तर बजार अनुगमन तथा अध्ययनमा छौँ, कुनै पनि हालतमा अभाव छैन, हुन दिन्नौं,’ सचिव भट्टराईले भने ।

उनले भन्सारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै २ लाख १२ हजार टन चिनी आयात भएको जनाउँदै नेपालमा नै १ लाख ५ हजार टन उत्पादन भएको जनाए । चिनी उत्पादक संघको तथ्यांक अनुसार तेस्रो वर्षमा चिनीको उत्पादन अलि कम हुँदा गत वर्षमा १ लाख ५ हजार टन उत्पादन भएको थियो ।

‘उपभोक्ता तथा व्यापारिक प्रयोजनका लागि नेपालमा वार्षिक २ लाख ५० हजार चिनीको माग छ । मागभन्दा धेरै आयात भइसकेको छ, कसरी बजारमा चिनीको अभाव हुन्छ ? चालु आर्थिक वर्षको साउनमा १७ हजार टन आयात भयो, भदौमा आउनुपर्ने १० हजार टन पाइपलाइनमा छ, हिसाबले गर्दा अभाव हुँदैन, सम्भावना छैन,’ सचिव भट्टराईले थपे ।

अन्य समयमा मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरन्तर बजार अनुगमन गर्ने गरेको भन्दै सचिव भट्टराईले चार्डपर्वको समयमा मात्रै ४० प्रतिशतभन्दा बढी खपत हुँदा बजार अनुगमनलाई विशेष बनाईएको जानकारी दिए ।

वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले पनि चाडपर्वका लागि आवश्यक खाद्य पदार्थको मौज्दात पर्याप्त रहेको जानकारी दिए ।

‘हामी चाडपर्वमा हुने अनुचित व्यापारिक क्रियाकलापलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन गरीरहेका छौं, बजारमा वस्तुको अभाव भएको जनाउँदै कालोबजारी गर्नेहरु सक्रिय हुने समय यही हो, हामीसँगै व्यवसायी र उपभोक्ता पनि सक्रिय हुनुपर्छ,’ महानिर्देशक पौडेलले भने ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सामग्रीको नापतौलमा गल्ती भेटिए तत्काल कारवाही गर्ने चेतावनी दिए ।

‘हामी पछिल्लो समय निर्माण सामग्री केन्द्रीत भएर बजार अनुगमन गर्ने गरेका छौं, अनुगमनका क्रममा सामग्रीको मूल्य एउटै राखेर तौल घटाउने गरेको पाइयो’, उनले भने ।

नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले चाडबाडमा इन्धनको अभाव नहुने जनाए ।

‘हामीसँग ७९ प्रतिशत इन्धनको मौज्दात छ, पाइपलाइनबाट निरन्तर रुपमा इन्धन आइरहेको छ, दशैंमा हाम्रो इन्धन डिपोहरु खुल्ला हुन्छन्, अभाव हुँदैन,’ गोइतले भने ।

Share News