काठमाडौं । सेयर बजारमा धेरै पछि हरियाली छाएको छ । गत एक साताअघिदेखि निरन्तर राताम्मे देखिएको सेयर बजार आज भने हरियो देखिएको छ ।
बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । घटेर २५८०.४ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्ततः बढेर २६६५.९४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत अर्थात ५०.५८ अंकले बढी हो ।
परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन (मंगलबार) पौने ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सो दिन २२९ स्क्रिप्टको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।
जसमध्ये सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कम्पनी विभिन्न तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको कम्पनी कारोबार संख्या र टप गेनरमा पनि अग्रस्थानमा नै रहेको छ । त्यस्तै, धेरै पटक कारोबार हुनेमा कम्पनी दोश्रो स्थानमा रहेको छ । दिनभरको कारोबारमा कम्पनीको ५ लाख १४ हजार ४३९ कित्ता सेयर २ हजार ३६५ पटकमा किनबेच भएको थियो ।
त्यसैगरी, अपिको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१.८० रुपैयाँले बढी हो । अपिसँगै अन्य ४ वटा कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ९.९३, यूनाईटेड ईदी मार्दी आरबी हाइड्रोपावरको ९.६४ र कालिका पावर कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ ।
त्यस्तै, सबैभन्दा बढीले सेयर मूल्य घट्नेमा मेगा बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ३४२.८० रुपैयाँमा रहेको छ ।
बुधबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २५५.६६ अंकले बढेको छ ।