काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फाइल पेश गर्दै करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
संस्थाले कूल ३ लाख ९५ हजार ३३६ कित्ता अर्थात ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न गत असोज ११ गते मात्रै बोर्डसँग स्वीकृति मागेको छ ।बोर्डको स्वीकृति पाएपश्चात संस्थाले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ ।
संस्थाले आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता भइसकेको छ ।
बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र पाएको छ । संस्थाले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन ९प्राप्ति० गरिसकेको छ ।