काठमाडौं, १ साउन । गत जेठ महिनामा पनि उपभोक्ताले महंगीको राम्रै ताप सहनु परेको छ । सो महिनामा तरकारी र दालजन्य बस्तुको मूल्य अत्याधिक बढेको छ ।
साउन महिनामा तरकारीको मूल्य गत बर्षको सोही महिनाको तुलनामा २९ दशमलब ४ प्रतिशतले बढेको छ । यस्तै दालजन्य बस्तुको मूल्य २१ दशमलब ५ प्रतिशतले बढेको छ । समग्रमा मूल्यबृद्धि भने ११ दशमलब १ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ४ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्य वृद्धि दोहोरो अंकमा रहेकोले मूल्यबृद्धिदर उच्च रहन गएको हो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य बृद्धिदर ११ दशमलब ९ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मूल्य १० दशमलब ५ प्रतिशतले बढेको छ । तरकारी, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, लत्ता कपडा तथा जुत्ता समूहको मूल्य वृद्धिदर उच्च रहेकाले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा थप चाप परेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशलमब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएकोले गैर खाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको हो ।
क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा १३ प्रतिशत, पहाडमा १२ प्रतिशत, हिमालमा १० दशलमब २ प्रतिशत र तराईमा ९ दशमलब ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलब ८ प्रतिशत, पहाडमा ८ प्रतिशत र तराईमा ६ दशमलब ७ प्रतिशत रहेको थियो ।