काठमाडौं, १ साउन । चालु आर्थिक बर्षको ११ महिनामा नै ब्यापार घाटा ६ खर्ब २२ अर्ब रुपैयाँ नाघेको छ । निर्यात कमजोर भइ आयातको अंश अत्याधिक बढेका कारण ब्यापार घाटा उच्च हुन गएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल वस्तु व्यापार घाटा १ दशलमब ६ प्रतिशतले बढी ६ खर्ब २२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८ दशमलब ७ प्रतिशतले बढेकोे थियो । चालु आर्थिक बर्षको असोजदेखि पुस महिनामासम्म भारतले अघोषित नाकाबन्दी गरेपछि आयात कम हुदा ब्यापार घाटाको बृद्धिदर केही कम देखिएको हो ।
निर्यात–आयात अनुपात ९ दशलमब १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलब ३ प्रतिशत रहेको थियो ।
गत जेठ महिनामा कुल वस्तु निर्यात २० दशमलब १ प्रतिशतले घटेर ६२ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४ दशमलब ८ प्रतिशतले घटेको थियो ।
यस अवधिमा भारततर्फ ३१ दशमलब ८ प्रतिशत र चीनतर्फ ३० दशमलब ४ प्रतिशतले गिरावट आएको निर्यात अन्य मुलुकतर्फ भने ४ दशमलब ९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा मुख्यतया ऊनी गलैँचा, अलैंची, पश्मिना, तयारी पोशाक, चिया लगायतका वस्तुहरुको निर्यात बढेको छ भने जिङ्क शीट, जि.आई.पाइप, पोलिष्टर यार्न, लत्ताकपडा, जुुुस लगायतका वस्तुहरूको निर्यात घटेको छ ।
कुल वस्तु आयात शुन्य दशमलब ९ प्रतिशतले घटेर ६ खर्ब ८४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७ प्रतिशतले वृद्धि भएको थियो । पेट्रोलियम पदार्थको आयात उच्च दरले घटेकोले कुल वस्तु आयात घट्न गएको हो । पेट्रोलियम पदार्थ बाहेकको आयात भने ६ दशमलब २ प्रतिशतले बढेको छ ।
चीनबाट भएको आयात १२ दशमलब ४ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३ दहलब ८ प्रतिशत र शुन्य दशमलब ४ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, सुन, चामल, औषधि, एम.एस. वायर, लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, चाँदी, हवाईजहाजका पार्टपूर्जा, सुपारी लगायतका वस्तुहरूको आयात घटेको छ ।