काठमाडौं, १ साउन । रेमिटान्स आयको बृद्धिदर घट्दो क्रममा देखिएको छ । चालु आर्थिक बर्षको जेठ महिनासम्ममा रेमिटान्स आय अघिल्लो बर्षको सोही अवधिको तुलनामा एक तिहाइले घटेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत जेठसम्ममा रेमिटान्स आय ८ दशमलब ६ प्रतिशतले वृद्धि भई ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आय १२ दशमलब ४ प्रतिशतले वृद्धि भएको थियो ।
रेमिटान्स आयलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या आर्थिक वर्ष २०७२/७३ को एघार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० दशमलब ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४ दशमबल २ प्रतिशतले बढेको थियो ।